जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको छ।
साउन २१ गतेदेखि २५ गतेसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिकाबिहीन किसिमबाट अधिनायकवादी चरित्र देखाएको आरोप समेत लगाएको छ।
'संविधान संशोधन गर्ने सहमति पालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न सरकार अग्रसर छ,' जसपा नेपालले भनेको छ, 'राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने बालापन देखाउँदै परस्पर निर्भर विश्वमा दुई छिमेकी मुलुकबीच कुटनीतिक, आर्थिक सम्बन्ध बलियो र सन्तुलित नीति अपनाउनुको सट्टा कुटनीतिक अपरिपक्वता र असन्तुलन प्रदर्शन गर्ने, देशभित्र नश्लवाद प्रोत्साहन तथा भ्रष्टचार र कालोबजारी एवम् कमिसनखोरलाई बढावा दिने कार्य भएको छ।'
संघीय सरकारलाई आफ्नो पार्टीको छायाजस्तो बनाई संसदको गरिमा घटाउने र राष्ट्रिय एकताको प्रतीकका रूपमा रहनुपर्ने राष्ट्रपति जस्तो पदको दुरुपयोग गर्दै आफ्नो शक्ति मजबुत गर्ने हतियारका रूपमा प्रयोग गर्दै आएको समेत जसपा नेपालको बुझाइ छ।
बैठकले टिकापुर घटनाका आरोपी सांसद रेशमलाल चौधरीको रिहा र मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा खारेजी र घाइतेको उपचार तथा क्षतिपूर्ति समेत माग गरेको छ।
वैवाहिक अंगिकृत नागरिकता प्राप्ति सम्बन्धी विगतको प्रावधान यथावत राख्दै नागरिकता सवालमा महिला-पुरुषबीच असमानता र विभेद नगर्न समेत जसपाले सरकारसँग आग्रह गरेको छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक स्वयंले घोषणा गरेको पहिचान नै मान्यता दिएर नागरिकता प्रदान गर्ने व्यवस्था गर्न पनि जसपाले भनेको छ।
चार दिनसम्म चलेको बैठकले पार्टीको महत्वपूर्ण कार्य विभाजन भने गर्न सकेन। त्यस्तै पार्टीको दर्शन पनि स्पष्ट पार्न नसकेको एक सदस्यले सेतोपाटीलाई बताए।
'बाबुराम भट्टराईले समुन्नत समाजवाद भन्नुभयो भने उपेन्द्र यादवजीले समाजवादी लोकतन्त्र। अनि राजेन्द्र महतोले सामुदायिक समाजवाद दर्शन मान्नुपर्ने धारणा राख्नुभयो,' ती सदस्यले भने, 'नेकपा र कांग्रेसको विकल्प दिन्छु भन्ने पार्टीले कार्यविभाजन समेत गर्न सकेन। अझै एक वर्षमा ५ लाख सदस्य संख्या पुर्याउने महत्वाकांक्षी योजना कसरी पूरा होला?'
हेर्नुस् जसपाको विज्ञप्तिः