उपप्रधान तथा रक्षामन्त्री एवं कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा पोखरेलले कोभिड १९ नियन्त्रणका लागि सरकारले गरिरहेका कामकारबाहीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पनि उपस्थिति थियो।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी नै देखिएको उल्लेख गरिन्।
तथापि बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा उनले चिन्ता व्यक्त गरिन्।
हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्नेमा जोड दिइन्।