उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र बंगलादेशबीचको पारस्परिक सहयोगको क्षेत्रलाई थप फराकिलो पार्नुपर्ने बताएका छन्।
आफ्नै कार्यकक्षमा शिष्टाचार भेटका लागि आएकी नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक विपत्ति लगायतका समस्यासँग जुध्नका लागि सहकार्य गर्नुपर्ने बताए।
नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेकी राजदूत साम्सले उपप्राधानमन्त्रीसँगको भेटमा संयूक्त सैनिक अभ्यास¸ तालिम तथा उच्चस्तरीय भ्रमण मार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगिरहेको विचार व्यक्त गरेकी थिइन्।
उपप्रधानमन्त्री पोखरेलले नेपाल र बंगलादेशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै यो सम्बन्ध सरकार- सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेका थिए।
राजदूत साम्स नेपालमा ७ वर्ष लामो कार्यकाल बिताएर स्वदेश फर्किन लागेकी हुन्।