प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल जेरीजस्तै जेलिएको संकेत गरेका छन्।
सोमबार बिहान निजी निवास बालकोटमा पुगेका प्रधानमन्त्री ओलीले पूर्वमन्त्री एवम् सांसदहरू गोकुल बाँस्कोटा र महेश बस्नेतसँग यस्तो ठट्टा गरेका हुन्।
'प्रधानमन्त्रीले भक्तपुरका साथीभाइ भेट्नुभयो। उहासँग ठट्टा मजा भयो। महेशजी र मैले वार्ता सक्कियो भनेर सोध्यौं,' पूर्वमन्त्री बाँस्कोटाले भने,'उहाँले बैठक सकियो भनेर भन्नुभयो अनि हामीले के भयो त भनेर भन्या तातो जेरी खाइयो भन्नुभयो। जेरी मिठो थियो भनेर फेरि सोध्दा उहाँले गज्जब मीठो थियो भन्नुभयो।’
प्रधानमन्त्रीले बाँस्कोटा र बस्नेतलाई भोलि पनि बैठक हुने जानकारी दिएका थिए।
'भोलि जेरी नखाने भनेर प्रधानमन्त्रीले भन्नुभयो अनि मैले तिते करेली खाने त भनेर भनेको थिए। जवाफमा प्रधानमन्त्रीले अँ..अँ भन्नुभयो,' उनले भने,'हामीले दुई अध्यक्षको कुराकानी पनि जेरीजस्तै छ भनेर बुझ्यौं।'
बालकोटबाट बालुवाटार फर्किने बेला बाँस्कोटाले प्रधानमन्त्रीले अब कहिले आउने भनेर सोध्दा अढाई वर्ष फर्किन्नँ होला भनेर जवाफ दिएका थिए।
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा पूर्वमन्त्री बाँस्कोटा बस्दै आएका छन्।
बालकोट जानुपहिला प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। छलफलमा वरिष्ठ नेता झलनताथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए। आज बालुवाटार बैठकमा जेरी खाएर कुराकानी भएको थिए।
'प्रधानमन्त्री एक डेढ घन्टा बस्नुभयो। भक्तपुरको विकास निर्माण र कोरोना संक्रमणबारे कुराकानी भयो,' सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले भने,'उहाँले जीवनमा भोगेका राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर संग्रहालय बनाउन लागिएको छ। उहाँले त्यसको निरीक्षण गर्नुभयो।'
प्रधानमन्त्रीले पार्टीभित्रको विवादले जनता र पार्टी कार्यकर्तामा निराशा छाएकाले यसलाई चाँडो टुंगो लगाउनु पर्ने बताएको समेत बस्नेतले जानकारी दिए।
'आजै सक्नुपर्छ भन्ने थियो गुलियो खाएको बेलामा किन तितो कुरा गर्ने भनेर हो। भोलि तिते करेला खाएर भने टुंगो लगाउँछौं,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बस्नेतले भने,'धेरै तनाव लिनु पर्दैन। हामी टुंगो लगाउँछौं। छलफल सकारात्मक छ। हामी चाँडै नै टुंगो लगाउँछौं।'