धरपकड गरिएका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई ससम्मान तत्काल रिहाइ गर्न विवेकशील नेपालीले माग गरेको छ।
शुक्रबार बिहान बालुवाटारको सडक पेटीबाट कार्यक्रमको निर्धारित समय अगावै प्रहरीले केही अभियन्ताहरूलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सुदन गुरुङ, रन्जु दर्शना, शसि बिक्रम कार्की, आलोक सुबेदी, विजय वावु शिवाकोटी, पवन मल्ल, नवराज उप्रेती, शिशिर राई, वृतान्त खनाललगायत छन्।
शुक्रबार विवेकशीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ-आज बालुवाटारमा भएको व्यवहार लोकतन्त्रमा विधिविधानभित्र रही शान्तिपूर्ण प्रदर्शनी गर्न पाउने नागरिकको अधिकारमाथि कुठाराघात गर्ने, लोकतन्त्रको जगलाई कमजोर बनाउने र सत्तासिनहरूको अधिनायकवादी चरित्रको दरिद्र प्रदर्शनी रहेको, ठहर दलको रहेको छ।
यसका साथै दलले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा माग गरेको छ।
‘नागरिकको शान्तिपूर्ण अभियान शक्तिले कुल्चन खोज्ने गृहमन्त्रीको राजीनामा माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
इनफ इज इनफका अभियन्ताहरूको पहिलो सत्याग्रहलाई अन्त्य गराउँदा स्वास्थ्य मन्त्रालयको तर्फबाट हस्ताक्षर गरिएको १२ बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै अभियान्ताले त्यसविरूद्ध प्रदर्शन गर्दै आएका छन्।