नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनुशासन समितिले नेताहरूलाई गरेका कारबाहीप्रति आपत्ति जनाएका छन्।
कैलालीका पुष्करनाथ ओझामाथि पाँच वर्ष पार्टी सदस्यतासमेत नरहने गरी गत शनिबार अनुशासन समितिले गरेको कारबाहीप्रति पौडेलले आपत्ति जनाएका हुन्।
ओझा पौडेल पक्षका नेता हुन्।
ओझामाथि कैलालीमा नेतृ आरजु राणा देउवामाथि चुनाव हराउन भूमिका खेलेको आरोपमा अनुशासन समितिमा उजुरी थियो।
‘ओझालाई स्पष्ट आधार र कारणबिना बागी उम्मेदवारसँग जोडेर विधानको दफा ३५ बमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन कारबाही गर्नु अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ,’ पौडेलले भनेका छन्।
पौडेलले विगत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा बागी उम्मेदवारी दिने व्यक्तिलाई कारबाही नगरेको पनि उल्लेख गरेका छन्।
पौडेलविरूद्ध तनहुँमा उम्मेदवारी दिएका गोविन्दराज जोशीलाई पनि कांग्रेसले ५ वर्षका लागि कारबाही गरेको छ।