पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्ति गर्न माग गर्दै विद्यार्थीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रधानमन्त्री निवास पुगेर उनीहरूले १० महिनादेखि विश्वविद्यालय पदाधिकारीविहीन हुँदा शैक्षिक तथा प्रशासनिक काम अन्यौलमा रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयका संस्थापक स्ववियू सभापति सुनिल तिमिल्सिना र स्वतन्त्र विद्यार्थी परिषद् सभापति किशोर सुवेदीले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका हुन्।
‘१० महिनादेखि विश्वविद्यालय पदाधिकारीविहीन हुँदा पठनपाठन, परीक्षालगायत अन्यौल छ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘उपकुलपति, रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रकलगायत नियुक्ति गर्नुपर्यो।’
उनीहरूले विश्वविद्यालयमा ४० हजार विद्यार्थीको शैक्षिक भविष्य अन्यौल रहेको पनि बताएका छन्।
पदाधिकारी नियुक्ति माग राख्दै नेविसंघले विश्वविद्यालय परिसरमा पनि रिले अनसन जारी राखेको छ।