सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टीभित्र दुई अध्यक्ष जरूरी नरहेको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै गजुरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष र केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्ने पक्षमा आफू रहेको बताए।
'अहिलेको आवश्यकता एउटा अध्यक्ष हुने र अर्को प्रधानमन्त्री हुने हो। यसले पार्टीको स्थायी समाधान हुन्छ,' उनले भने,'छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्छ। सीमाको समस्या समाधान लगायतका काम भइरहेको अवस्थामा सरकारको नेतृत्व वर्तमान प्रधानमन्त्रीले र पार्टीको नेतृत्व प्रचण्डले गर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो।'
उनले पार्टीमा दुई अध्यक्ष हुँदा समस्या भएकाले एउटै अध्यक्ष हुनुपर्ने समेत बताए।
'हिजोको अवस्थामा दुई अध्यक्ष आवश्यक थियो तर अहिले त्यसले समस्या पैदा गरेको छ। दुई अध्यक्ष भएपछि हरेक कुरा सोध्न पर्ने हुने रहेछ। थोरै असन्तुष्टि हुँदा पनि समस्या हुने रहेछ,' उनले भने,'त्यसो गर्दा एक-अर्काको आवश्यकता महशुस हुन्छ नत्र एक-अर्काको आवश्यकता पनि महशुस भएन। एउटा बेरोजगारजस्तो अर्को व्यस्तमात्रै भइरहने अवस्था छ।'
नेकपाभित्रको विवाद र यसको समाधानको विकल्पमा केन्द्रित रहेर सेतोपाटीका सन्जिब बगालेले गजुरेलसँग भिडिओ कुराकानी गरेका छन्।
यस कुराकानीका मुख्य बुँदा:
-दुई अध्यक्षको भूमिकालाई सुनिश्चित गर्ने पार्टी र सरकारका कामलाई व्यवस्थित गर्ने र त्यसको समन्वयलाई प्रभावकारी बनाउने निष्कर्षसहित अहिले जारी स्थायी समिति बैठक सकिन्छ।
- प्रचण्डलाई कार्यकारी बनाउँदा पनि समस्याको हल भएन। प्रधानमन्त्री छोड्दा राम्रो सन्देश पनि नजाने भएकाले अहिलेको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड हुँदा राम्रो हुने रहेछ।
- अब पूर्वएमाले र पूर्वमाओवादी भन्ने छैन। पार्टी अन्तरघुलन भइसकेको छ। त्यसैले दुई-दुई अध्यक्ष चाहिन्न भन्ने हो।
- कागजमा जे लेखे पनि दुई अध्यक्ष भइरहँदा यस्तै हुन्छ। उहाँहरूको स्वभावले पनि यस्तै छ। दुबैको वर्चस्व कायम गर्ने स्वभाव छ। एउटा अध्यक्ष, अर्को प्रधानमन्त्री भएपछि सहकार्य हुन्छ।
- अहिले सहमति ठ्याक्कै भइसकेको छैन। उहाँहरूको बीचमा विकल्पबारे छलफल भएको होला। उहाँहरूले बाहिर ल्याउनुभएको छैन। पार्टी र सरकारको सम्बन्ध अनि दुई अध्यक्षको भूमिकामै सहमतिको प्रयास भइरहेको छ। कार्यविभाजन मुख्य कुरा हो।
- एकथरिले दुबै पदबाट राजीनामा दिने भनेका छन् भने अर्कोथरिले दुबैबाट दिन हुन्न भनेका छन्। त्यही भएर विकल्पबारे छलफल भएकोजस्तो मलाई लाग्छ।
- पार्टीमा गुट मौलाएको छ। गुट मौलायो भने इमान्दार पाखा लाग्दै जान्छन्। गुटले गलत मान्छेलाई संरक्षण गर्छ।
- पार्टीभित्र बनेका समिकरणले पनि समस्या परिरहेको छ। समिकरण नबनाउन मैले पहिला पनि सुझाव दिएको हो। हिजो दुई जना बसेर समाधान खोज्न सक्नुहुन्थ्यो। अहिले आफ्ना समिकरणमा छलफल गर्नुपर्यो। समिकरण बनेको कारणले अप्ठेरो भएको छ।
- यसलाई धेरै लम्ब्याउन हुँदैन। एकातिर बजेट कार्यान्वयन गर्ने बेला भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दो छ। अर्थतन्त्र डामाडोल छ अनि सीमाको समस्या र बाढी पहिरोसँग जुध्न पर्ने भएकाले बैठक सक्नुपर्छ।
- एउटाले पार्टी र अर्कोले सरकार भन्नेमा विमति छजस्तो मलाई लाग्दैन। तर यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा विमति छ। यसैको वरिपरि सहमति हुने हो अन्त गएर हुँदैन।
- करिब-करिब पार्टी फुटिसकेको थियो। अब त्यो दुर्घटना टरेको छ।