संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध-तटबन्ध लगायतका भौतिक संरचनाहरू तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्डविपरीत सीमा नजिकैका क्षेत्रहरूमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरूलाई तत्काल हटाउन पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
सीमा नजिक बनेका संरचनाहरूले नेपालतर्फ डुबान परेकोले त्यस्ता संरचनाहरूलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताइन्।
समितिले भू–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरूलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ।
यस्तै, डुबानमुक्त घरको नमूना तयार गरी एकीकृत बस्ती बसाल्न आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन्।
बाढी-पहिरो र डुबानबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना वा गुरूयोजना तयार गर्न समेत निर्देशन दिएको छ।
समितिले बाढी-पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थित गर्न स्थानीय तहमा स्रोतसाधन सहितको विपद् व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ।
बाढी-पहिरो र डुबानबाट बेपत्ता भएकाहरूको तत्काल खोजी उद्धार गर्ने र बाढीबाट प्रभावित सम्पूर्ण पीडितहरूलाई विभिन्न तहहरूको समन्वयद्वारा एकद्धार प्रणालीमार्फत् राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ।
समितिले बाढी प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवा तथा सरसफाइ, सर्पदंश तथा अन्य औषधि उपचारको आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ।
विपदको समयमा हुनसक्ने सम्भावित चोरी-डकैती, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाप्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
यस्तै, नेपालमा बन्दै गरेका लोकमार्गको वैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोड्ने सडकहरू, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दूरीमा पानीको निकासका लागि साइफन कल्भर्ट र सडक किनारमा नाला अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ।