जनता समाजवादी पार्टीले एमसिसीबारे पार्टीभित्र छलफल भइरहेकाले कुनै निर्णयमा नपुगेको बताएको छ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार विज्ञप्ति निकालेर एमसिसीबारे आफ्नो नीति र धारणा निर्माण गर्न आन्तरिक गृहकार्य जारी नै रहेको बताएका हुन्।
‘एमसिसीबारे पार्टीले निर्णय गरेको छैन। कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन,’ अध्यक्षद्वयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे आन्तरिक गृहकार्य र छलफल जारी नै छ।’
एमसिसीबारे पार्टीलाई जोडेर खबर आइरहेको उल्लेख गर्दै जनता समाजवादीले भ्रम फैलाउने उद्देश्यले गरिएका गलत र सुनियोजित प्रचारमा सत्यता नभएको उल्लेख गरेको छ।
‘पार्टीलाई नै बदनाम गराउने गरी गरिएका निन्दनीय कार्यहरूप्रति घोर आपत्ति, निन्दा र विरोध गर्दछ,’ अध्यक्षद्वय ठाकुर र यादवले निकालेको विज्ञप्तिमा उल्लेख छ।