सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई उक्साउने प्रवृत्ति रहेकोले सावधान रहनु पर्ने बताएका छन्।
‘हामी नेताहरूलाई एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने। अर्को आएर प्रचण्डलाई केपीलाई छोड्न हुन्न भनेर उक्साउने प्रवृत्तिहरूप्रति सावधान रहन र तपाईंहरूले खबरदारी गर्नुपर्ने त्यहाँनेर हो,’ नेकपा चितवनले आइतबार गरेको कार्यक्रममा प्रचण्डले भने।
हेर्नुस् भिडिओ:
पछिल्लो समय नेकपाभित्र प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद छ। समस्या हल हुन नसक्दा साउन २ सम्म स्थायी समिति बैठक पनि स्थगित छ।
बाढीपहिरोको विपत्तीका कारण नेकपा स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार गृहजिल्ला पुगेका थिए। उनले शनिबारदेखि नै भेटघाटलाई तीव्रता दिइरहेका छन्। यही क्रममा आइतबार चितवन नेकपाले गरेको कार्यक्रममा प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक किचलोबारे प्रष्टाउने कोसिस गरेका हुन्।
उनले नेता/कार्यकर्तालाई पार्टी एकता बनाउने ठूलो जिम्मेवारी रहेको पनि बताए।
‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ,’ उनले भने, ‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन। हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो। हामी सबै मिलेरै नक्सा बनाएको हो। स्थायी कमिटी बैठकमा मैले बोल्दा होस् या सबैले सरकारलाई, कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ। नक्सालाई तपाईं प्रधानमन्त्रीको हैसियतले वैधानिकता दिन र औपचारिकता दिनुभयो। के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो?’
राष्ट्रवादलाई लिएर पार्टीभित्र जिन्दावाद र मुर्दावादका कुरा उठेकोमा प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन्। प्रधानमन्त्री केपी ओलीका पक्षमा सडक प्रदर्शनका क्रममा प्रचण्डलाई लक्षित गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरिएका थिए।
‘पार्टीभित्र जिन्दावाद र मुर्दावाद भन्ने कुरा हो? त्यसकारण म फेरि दोहोर्याउँछु यो पार्टीलाई विभाजित हुन दिइने छैन। पार्टी एकतावद्ध हुन्छ। तपाईं अहिले यताउता दौडिँदा पछि पछुताउनु पर्ला।’
प्रचण्डले पार्टीमा आफूलाई दिइएको कार्यकारी अध्यक्षको हैसियतबारे पनि गुनासो गरेका थिए। ‘कार्यकारी अध्यक्ष राम्रोसँग लागू हुन पाएन,’ उनले भने।
पार्टी एकता हुनुअघि ओली र प्रचण्डबीच समान अवधिमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। पछि उक्त सहमति परिवर्तन भएर ओलीले सरकारको नेतृत्व पाँच वर्षसम्म गर्ने र प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमति भएको थियो।