भारतीय समाचारका च्यानलको प्रशारण नेपालमा बन्द गरेकोमा सरकारले केवल च्यानल वितरक कम्पनीहरुलाई धन्यवाद दिएको छ।
एक विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी डिजिटल केवल सेवा प्रदायकले नै जिम्मेवारी बोध गरेकोमा आभार प्रकट गरेको छ।
‘आमसञ्चार माध्यमले समाचार प्रकाशन प्रशारण गर्दा सत्य, तथ्य र बस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयम् प्रतिबद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता छ’ सहसचिव ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘डिजिटल केवल सेवाप्रदायकले जिम्मेवार बोधका साथ स्वतस्फूर्त रुपमा प्रशारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’
यसअघि बिहीबार साँझबाट केवल सेवाप्रदायकहरुले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेका थिए।
राष्ट्रियतामा आँच पुग्नेगरी सामग्रीहरु प्रशारण भएको भन्दै उनीहरुले स्वतस्फूर्त रुपमा समाचार च्यानलको प्रशारण नेपालमा बन्द गराएका हुन्।