नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा माग्नेहरू ‘रिभ्यू’ गर्ने चरणमा पुगेको बताएका छन्।
शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको राजीनामाको कहाँनेर ‘ल्याण्ड’ गर्ने भन्ने उपायको खोजी भइरहेको बताए।
'अहिले प्रधानमन्त्रीको राजीनामा माग्दा, उहाँलाई विभिन्न हिसाबले हटाउन खोज्दा त्यसले पार्ने बहुआयामिक प्रभावबारे सायद उहाँको राजीनामा माग्ने नेताले पनि रिभ्यू गरिरहनुभएको छ कि भन्ने मैले ठानेको छु, यो मेरो अनुमान हो,' उनले भने,'प्रधानमन्त्रीको राजीनामा राष्ट्रियता र स्थिरतासँग जोडिएको छ। राजनीतिक उपलब्धि नउल्टिने गरी अझै परिपक्व भइसकेको छैन। एउटा उचाइमा पुगेर माग अगाडि बढाइयो, कहाँनेर गएर ल्याण्ड गर्ने र सबैले सम्मानजनक अनुभूत गर्ने खालको उपायको प्रश्नको वरिपरि घुमिरहेको छजस्तो मलाई लाग्छ।'
नेकपाको जारी स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको सेरोफेरोमा केन्द्रित रहेर सेतोपाटीका सन्जिब बगालेले ज्ञवालीसँग भिडिओ कुराकानी गरेका छन्।
यस कुराकानीका मुख्य बुदाँहरू:
-हामीले दुबै अध्यक्षलाई एकताका लागि थप समय लिनुस् र निष्कर्षमा नपुगी बैठकमा नफर्किनुस् भनेका छौं। यसले कति काम गर्यो मलाई थाहा छैन तर अहिलेको आवश्यकता यही हो। बाढी-पहिरोको समस्या भएको बेला पार्टीको आन्तरिक समस्यामा अलमलिनु हुँदैन भनेर पनि स्थगित भएको हो।
- समाधान ननिस्केका कारणले समस्या पर सर्यो भन्न सकिएला तर भन्छन् नि ‘समयले घाउलाई निको पार्छ।’ आशा छ- यो समयमा समाधान हुनसक्छ।
- पछिल्लो समय दुई अध्यक्ष गम्भीर रूपमा बस्नुभएको छ। समाधानको बिन्दुमा त पुगिसक्नु भएको छैन। तर देशभरका कार्यकर्ताको आवाज अनुभूति गरेर गम्भीरतापूर्वक बस्नुस् भन्ने हाम्रो चाहना हो।
- यसबीचमा कोरोना संक्रमण छैनजस्तो गरी, सीमा समस्या समाधानको निर्णायक बिन्दुमा पुगेका छौं भन्ने ख्याल नगरी, बाढी-पहिरोबारे बेखबर रहेजस्तो गरिएको छ। नेकपा कमजोर हुँदा मुलुकले हासिल गरेको उपलब्धि कमजोर हुन्छन्। घरको धुरी खाँबो भाँचिदा घर भाँचिन्छ भन्ने अनुभूत भयो होला।
- मैले बुझेसम्म उहाँहरूबीच खुलेर कुराकानी भएको छ। सहमतिको बिन्दु नभेटिएको यथार्थ हो। तर सहमति गर्नुपर्छ भन्ने अनुभूति भएको छ।
- असार १६ गतेको बैठकमा प्रधानमन्त्री सरकार र पार्टी चलाउन असफल भएको हो भनिएकै हो। तर अहिले दुईमध्ये एक पद छोड्नु भन्नुको अर्थ के हुन्छ? यो त भृकुटीमण्डपको कपडा पसलमा गएर कपडाको मोलमोलाइ गरेजस्तो भयो। यो मिलेन।
- प्रधानमन्त्रीलाई पार्टी र सरकारबाट हटनु पर्ने औचित्य पुष्टि हुन सक्दैन।
- पार्टीको विधानअनुसार बहुमत अल्पमतमा जान सकिँदैन। आजको समाधान अल्पमत र बहुमतबाट हुँदैन। हामीले विधान बनाउँदा बहमुत-अल्पमत हुँदैन भनेर भनेका छौं।
-आफूलाई अनुकूल पर्नसाथ गणितको डन्डा प्रयोग गर्छु भन्न मिल्दैन। त्यही भएर एकताको मर्मअनुसार चल्नुपर्छ भनेको हो। एकता परिपक्व भएपछि कमिटीहरू सकेसम्म सहमति नभए अल्पमत र बहुमतबाट चल्छन्। एकता नटुंगिदै गणितको सुत्र प्रयोग गर्न थाल्नुभयो, मसँग गणित अनुकूल छ भन्नुभयो भने क्षणिक आत्मसन्तुष्टि देला तर दीर्घकालीन समाधान दिँदैन।
- मैले उहाँ (प्रधानमन्त्री) ले दुबैमध्ये एक पद पनि छोड्न सम्भव देख्दिनँ। सहमति खोज्ने जिम्मा दुई अध्यक्षकै हो। अहिले पार्टी अध्यक्ष र सरकार नेतृत्व परिवर्तनको विकल्पमा लाग्नु भनेको ठूलो भूल हुनेछ।