गणेशमान सिंह फाउण्डेसनले राजेन्द्र खरेल र गोपालदास बादेलाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मानबाट सम्मानित गरेको छ।
फाउण्डेसनका अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खरेल निवास नयाँ बानेश्वर र बादे निवास बनेपा पुगेर बिहीबार सम्मान हस्तान्तरण गरेका हुन्।
कांग्रेसमा रहेर निष्ठाका राजनीति गरेको र प्रजातन्त्र स्थापनामा योगदान पुर्याएकोले उनीहरूलाई सम्मान गरिएको फाउण्डेसनले जानकारी दिएको छ।
सिंहका सहयोगी यूपी लामिछानेका अनुसार खरेल र बादेलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो।
यस्तै, फाउण्डेसनले ललितपुरका श्रीपतिदास जोशी, काठमाडौंका शिवगोपाल रिसल, सानु मानन्धर, श्यामलाल श्रेष्ठ, प्रदीपमान श्रेष्ठ, भक्तपुरका माथबरसिंह बस्नेतलाई सम्मान गर्ने पनि जानकारी दिएको छ।