जनता समाजवादी पार्टीका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन्।
सरकारले संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी बचाउने खेलमा लागेको र कोरोना महामारीका बेला जनताको चिन्ता नगरेको भन्दै दुई प्रतिपक्षी दलका नेताहरूबीच कुराकानी भएको हो।
‘प्रधानमन्त्रीलाई जनताको मतलब छैन। महामारीका बेला जनताको चिन्ता छैन, कसरी कुर्सी बचाउने भनेर प्रधानमन्त्रीजी लागिरहनुभएको छ,’ भेटवार्तामा भएका कुराकानीबारे सेतोपाटीसँग जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘जनतालाई सास्ती छ। जनताका कुरा राख्ने प्लेटफर्म संसद पनि हठात् अन्त्य गरिदिएकोबारे असन्तुष्टि रह्यो।’
अंगीकृत वैवाहिक नागरिकतामा सात वर्षे प्रावधान राखिएकोमा कांग्रेस र जसपाले विरोध गरिरहेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता विधेयक संसदमा छलफल हुन पाएन, असार १८ गते संसद अधिवेशन अन्त्य भएको थियो।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे पनि हामीले समीक्षा गर्यौं,’ महतोले भने, ‘सरकारले संविधानका मर्मविपरीत हुनेगरी एकपछि अर्को विधेयकहरू ल्याइरहेको छ।’
संसद अधिवेशन अन्त्य भएकोमा दुबै दलका नेताहरूले असन्तुष्टि जनाएको उनले बताए।
‘प्रधानमन्त्रीजी कुर्सी बचाउने र पार्टीभित्र आन्तरिक भागबन्डाकै लडाइँमा व्यस्त हुनुहुन्छ,’ महतोले भने, ‘जनता कोरोना, सलह, बाढी पहिरोको चपेटामा छन्।’
सरकारले संसद अधिवेशन अन्त्य गर्नेजस्ता गलत कदमहरू चालेकोमा दुबै दलले असन्तुष्टि जनाएको पनि उनले बताए।
सभापति देउवालाई भेट्न मंगलबार बिहान जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता महतो, बाबुराम भट्टराईलगायत गएका थिए। कांग्रेसका तर्फबाट छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए।
समसामयिक राजनीतिक घटनाक्रमबारे दुबै दलका नेताबीच करिब एक घण्टा छलफल भएको देउवाको सचिवालयले जनाएको छ।