सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो। स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ।
आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो। शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन।
दुई दिनअघि पार्टीभित्र देखिएका समस्या समाधानका लागि अध्यक्षद्वय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न भन्दै बैठक स्थगित गरिएको थियो।
नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ।
यो पनि पढ्नुहोस्ः