नेपाल कम्युनिष्ट पार्टीका दोस्रो पुस्ताका स्थायी समिति सदस्यहरूको भेलाले पार्टी एकता हुँदाको म्यान्डेटका आधारमा अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।
स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको स्थायी समिति सदस्यहरूको छलफलले पार्टी एकताको आधारबाट पछि हट्न नहुने सुझाव दिएको हो।
छलफलमा प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, बन मन्त्री शक्ति बस्नेत, उर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी थिए। स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, र मणि थापा पनि बैठकमा थिए।
'पार्टी गम्भीर संकटमा परेको छ। यसलाई बचाउन हामीले पार्टीका नेताहरूलाई सहयोग गर्नुपर्छ। पार्टी एकताका बेलामा जे आधार बनाइएको थियो त्यही आधारमा छलफल हुनुपर्छ,' स्थायी समिति सदस्य मणि थापाले भने, 'पार्टी एकता हुँदाको म्यान्डेटबाट माथि उठेर नयाँ म्यान्डेट तय हुनुपर्छ। सरकार र पार्टीको नयाँ ढंगले मूल्यांकन हुनुपर्छ।'
स्थायी समिति सदस्यहरुले छलफलका निष्कर्षलाई लिएर दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी कृषि मन्त्री एवम् स्थायी समिति सदस्य घनाश्याम भुसाललाई दिएका छन्।
२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।
नेकपामा पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ। जारी स्थायी समिति बैठकमा अधिकांश सदस्यहरूले उनको राजीनामा मागेका छन्।
स्थायी समिति बैठक चलिरहेका बेला सरकारले संसद अधिवेशन अन्त्य गरेपछि सरकारले पार्टी विभाजनका लागि अध्यादेश ल्याउँदै छ भन्ने आशंका चुलिएको छ।