बिहीबार मन्त्रिपरिषद बैठक यति छिटो सकियो कि बैठकमा कतिपय मन्त्रीहरू नै पुगेका थिएनन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा २० मन्त्रीमध्ये १३ जनामात्रै थिए। गृहमन्त्री रामबहादुर थापा, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत कतिपय मन्त्री पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकियो।
यति द्रुत गतिमा सकिएको बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन्।
आफू पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकिएको पर्यटन मन्त्री योगेश भट्टराईले सेतोपाटीलाई बताए।
यस्तै स्थायी कमिटी बैठकमा बसेका गृहमन्त्री बादल र बन मन्त्री बस्नेत पनि मन्त्रिपरिषद बैठकमा पुग्न पाएका थिएनन्। स्थायी कमिटी बैठक सुरू गर्न ढिलो भइसक्दा पनि प्रधानमन्त्री नआएपछि बुझ्न बादल र बस्नेतलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको स्थायी समिति सदस्य नन्दु प्रसाईंले जानकारी दिए।
तर उनीहरू पुग्नु अघि नै मन्त्रिपरिषद बैठक सकिएको थियो।