प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूलाई भारतले हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रष्ट्याउनु पर्ने बताएको छ।
मदन भण्डारीको जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन खोजेको बताए थिए।
प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा उक्त भनाइ आएपछि सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताएका हुन्।
शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै भनेका छन्- भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ।
‘प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन?,’ उनले प्रश्न गरेका छन्, ‘छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन?’
उनले कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको पनि उल्लेख गरेका छन्।
‘सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिनुस्,’ उनले भनेका छन्, ‘बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनुस्। हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनिय भएन। थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन।’
प्रधानमन्त्रीले लिम्पियाधुरा समावेश गरेको नक्सा जारी र उक्त नक्सा निशान छापमा राख्न संविधान संशोधनपछि भारतीयले प्रधानमन्त्री हटाउने खेल खेलेको बताएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रवक्ता शर्माले भनेका छन्- पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी! सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनीतिक पहलको `च्याप्टर क्लोज´ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कूटनैतिक!
आइतबारको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन नयाँदिल्लीदेखि काठमाडौंका होटलमा विभिन्न गतिविधि भइरहेको दाबी गरेका थिए। तर आफूलाई हटाउने सपना पूरा नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहन मन नभए पनि अहिले आफू हट्ने हो भने पछि नेपालका पक्षमा कसैले पनि बोल्ने आँट नगर्ने तर्क गरेका थिए।
यो पनि:
यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने आँट कसैले गर्दैन: प्रधानमन्त्री
प्रधानमन्त्रीले भारतलाई भने- केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ