सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले तत्काल अगाडि नबढाउने भनेको दुइटा विधेयक सोमबार राष्ट्रिय सभाको बैठकका सम्भावित कार्यसूचीमा परेको छ।
राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दैछ। उक्त बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव र अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
संघीय संसद महासचिव भरतराज गौतमका अनुसार आजका लागि सम्भावित कार्यसूचीमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलगायत पनि छ।
निजी क्षेत्रसमेत हेर्न दिने गरी विधेयक ल्याएको भन्दै अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयकको विरोधपछि नेकपा सचिवालय बैठकले तत्काल अगाडि नबढाउने बताएको थियो।