प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अहिले प्रधानमन्त्री भएर जुत्ता लगाएकोमा कतिलाई पीर परेको बताएका छन्।
आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भइरहेको आफ्नो विरोध तिनै मानिसहरूले गर्ने गरेको बताए।
‘यो गाउँको भैंसी गोठालो, भूमिगत हुँदा मैले भेटेको चप्पल लगाएर हिँड्थ्यो। काठमाडौंमा त साइकल चढेर हिँड्थ्यो। कसरी प्रधानमन्त्री भयो कसरी जुत्ता लगाएर बस्न सक्ने भयो भनेर उनीहरूले विरोध गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने,‘हो म साइकल चढेरै हिँड्थें।’
प्रधानमन्त्री ओलीले आफूलाई कतिले शासक बन्न लाग्यो भनेर विरोध गरे पनि आफूले जहिले पनि राष्ट्रको सेवामात्र गरिरहेको बताए।
‘म जेलमा बस्दा पनि राष्ट्रको सेवा गरिरहेको थिएँ। मलाई कहिल्यै शासक बन्नुपर्छ भने लागेन,’प्रधानमन्त्री ओलीले भने।
आफूले बोलेका कतिपय कुरा मानिसहरूले नबुझेर उखान टुक्का भनेर उडाउने गरेको गुनासो गरे।
‘म उपमा, विम्व र दृष्टान्त प्रयोग गरेर बोल्छु तर मानिसहरू त्यसको अर्थ नबुझेर उखान टुक्का भन्यो भनेर उडाउँछन्,’ प्रधानमन्त्री ओलीले भने।