सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका एक सचिवालय सदस्य आइतबार दिउँसो सचिवालय बैठकका लागि बालुवाटार जाने तयारी गर्दै थिए। त्यही बेला बैठक स्थगित भएको खबर आयो। उनी घरमै रोकिए।
उनका अनुसार आइतबार ४ बजेका लागि बोलाइएको बैठक सार्नुको कारण केही बताइएको छैन।
'बैठक किन सारिएको भनेर केही थाहा भएन के गर्छन्, अत्तोपत्तो हुँदैन। म त हिँड्नै लागेको थिएँ। बैठक स्थगित भएको खबर आयो,' उनले भने,'उहाँ (प्रधानमन्त्री) लाई साँच्चै केही भएर हो कि। हामीले सबै कुरा थाहा पाउँदैनौं। उहाले केही भन्नुभएको छैन। उहाँको कार्यशैली थाहा छँदैछ नि।'
आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्ने एजेन्डा थियो। छलफलका लागि एमसिसी कार्यदलमा रहेका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो। अर्थमन्त्री युवराज खतिवडालाई बैठकमा बोलाइएको थियो।
यसअघि जेठ २७ गतेका लागि तय भएको बैठक पनि स्थगित भएको थियो। त्यो दिन संसदमा बजेटबारे छलफल भएको र प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरू प्रतिनिधि सभाको बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको थियो।
प्रधानमन्त्रीलाई धपेडी भएका कारणले आजको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सेतोपाटीलाई बताए।
'प्रधानमन्त्रीलाई धपेडी भएका कारण आजका लागि तय भएको बैठक स्थगित भएको हो,' थापाले भने,'उहाँ आराम गरिरहनुभएको छ।'
सेतोपाटीसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले चाँडो टुंगो लगाउनु पर्ने विषयलाई परपर धकेल्नुको कारण बुझ्न कठिन भएको बताए।
'हामीलाई पनि बुझ्न कठिन भएको छ। अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भनेर खबर आएको छ,' खनालले भने,'जतिसक्दो चाँडो बैठक राख्नुपर्छ र एमसिसीबारे निर्णय गर्नुपर्छ।'
एमसिसीबारे अध्ययन गर्न गठित नेकपा कार्यदलका संयोजकसमेत रहेका खनालले आफूहरूले दिएकै प्रतिवेदनलाई पार्टीले पास गर्ने दाबी गरे।
खनाल नेतृत्वको कार्यदलले एमसिसीलाई परिमार्जन नगरी पारित गर्न नहुने सुझाव दिएको छ।
सचिवालयमा रहेका ९ सदस्यमध्ये प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल,वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ परिमार्जन गरेरमात्रै पारित गराउनुपर्ने पक्षमा छन्। अर्का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले यसबारे बोलेका छैनन्।
स्थायी समिति सदस्य एवम् एमसिसी कार्यदलका सदस्य भीम रावलले पटक-पटक बैठक बोलाएर स्थगित गरिनु चिन्ताको विषय भएको बताए।
'बैठक स्थगित किन गरियो भन्ने जानकारी पाउन सकिएको छैन। यसरी पटक-पटक बोलाउने अनि अकारण स्थगित गर्ने र महत्वपूर्ण विषय पार्टीमा छलफल नहुदा यसले सरकार र पार्टी दुवैलाई राम्रो गर्दैन।'रावलले सेतोपाटीसँग भने,' यस्ता घटनाले पार्टीलाई कमजोर बनाउँछ। यस्तो किन भइरहेको छ भनेर म आश्चर्यचकित छु।'
२० स्थायी समिति सदस्यले निकै अगाडिदेखि अत्यन्त संवेदनशील विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइयोस् भन्दासमेत नबोलाइनु दुःखद रहेको रावलले बताए।
यसबीचमा संविधान संशोधनलगायत महत्वपूर्ण घटना हुँदासमेत बैठक नबोलाइएको उनले बताए।
वैशाख १०गते २० जना स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्र पठाएका थिए। त्यसपछि वैशाख २५ गते बोलाइएको स्थायी समिति बैठक स्थगित भएको थियो भने वैशाख ३१ गते बोलाइएको बैठक पनि स्थगित भएको थियो।