भिडिओ अन्तर्वार्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाबाट संक्रमित सबैको उपचार गर्ने जिम्मा राज्यले लिने बताएका छन्। सेतोपाटीसँग कुराकानी गर्दै स्वास्थ्यमन्त्री ढकालले आवश्यकता परे कोरोना पुष्टि भएकाहरू घरमै बस्नु पर्ने हुनसक्ने बताए।
‘घरमै बसेका व्यक्ति पनि सरकारकै निगरानीमा हुन्छन्। घरमा राखेर सरकार उम्किने भन्ने होइन। कोही घरमै बसेर राज्यलाई सहयोग गर्न सक्छ’ ढकालले भने, ‘यसको अर्थ बिरामी घरमा राखेर घर र छिमेकीलाई संक्रमित बनाऊ भन्ने कुरा होइन। हामी पहिला अस्पताल दोस्रो आइसोलेसन सेन्टर र तेस्रो क्वारेन्टिनमा राख्ने योजनामा छौं।’
मन्त्री ढकालले सरकारले लकडाउनको नयाँ मोडालिटी तयार गरिरहेको समेत बताए। दशैंसम्मको कार्ययोजना बनाएर अगाडि बढ्न लागिएको उनको भनाइ छ।
क्वारेन्टिनको अवस्था, सरकारको तयारी र आगामी योजनामा केन्द्रीत रहेर स्वास्थ्य मन्त्री ढकाललाई हामीले १३ प्रश्न गरेका छौं।
यो भिडिओ कुराकानीका प्रमुख अंशहरू :
- भारतको सीमाबाट ठूलो संख्यामा नेपाली आएकाले सबैलाई सीमामा क्वारेन्टिन बनाएर राख्न सकिएन। ठूलो मात्रामा संक्रमित आउनुभएकोले समस्या परेको हो। हामीले स्क्रिनिङ गरेर व्यवस्थित गर्ने काम सुरू गरेका छौं।
- डब्लुएचओको पोर्टफोलियोअनुसार संक्रमित व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जान हुँदैन तर हामीकहाँ यो लागू हुन सकेन। संक्रमितको परीक्षण गराउन सकिएन। क्वारेन्टिन संक्रमणको केन्द्र नहोस् भनेर हामीले सोचेका छौं।
- बाहिरबाट आएकालाई होल्डिङ सेन्टरमा राखेर स्थानीय तहमा पठाउँछौं। क्षमताले भ्याएसम्म गुणस्तर सुधार्दै जान्छौं। सरकारले ध्यान नदिएको भन्ने लाग्न सक्छ, हामीले ध्यान पर्याप्त दिएका छौं।
- पहिला हङकङमा परीक्षणका लागि स्वाब पठाइन्थ्यो अहिले २० ठाउँमा परीक्षण हुन्छ। २ लाखभन्दा बढीलाई परीक्षण गरिएको छ। पिसिआरबाट नै ८४ हजारभन्दा बढी परीक्षण भइसकेको छ।अहिले हामीसँग दैनिक ५ हजारको नजिक परीक्षण गर्ने क्षमता भएको छ।
- लकडाउनकै अवधिमा बाहिरबाट २ लाख मान्छे आइसकेका छन्। अभावको बीचमा व्यवस्थापन गर्दै अगाडि बढेका छौं। दिनको १० हजारभन्दा बढी पिसिआर परीक्षण गर्नेगरी हामी लागेका छौं।
- निजी क्षेत्रलाई कोरोना परीक्षण गर्न दिनेबारे हामी छलफलमै छौं। म दोहोर्याएर भन्छु-कोरोनाबाट संक्रमित सबैको उपचारको जिम्मा राज्यले लिन्छ हामी त्यसको व्यवस्थापन गर्छौं।
- अहिले स्वास्थ्य सामग्री पर्याप्त छैन होला तर अभाव छैन। भोलि संकट आउँदा गर्न सक्दैनौं कि भन्नेमा हामी छैनौं।६ लाख जति परीक्षण गर्ने हाम्रो योजना छ। यसमा पिसिआरलाई प्राथमिकता दिने हो।
- अभावका बाबजुद् पनि राज्य लागेर संक्रमित कोही छौ कि भनेर परीक्षणको दायरमा ल्याएको छ। परीक्षणको यही रफ्तारले धेरै ठूलो संख्यामा संक्रमित देखिन सक्छन्। ती सबैलाई अस्पतालमा गाह्रो छ। त्यसैले अक्सिजन र भेन्टिलेटर चाहिनेका लागिमात्रै अस्पतालमा राख्ने योजना हुनसक्छ। संक्रमित ५ हजार पुगेपछि यसको विकल्प पनि छैन।
- लकडाउनको मोडालिटी परिवर्तन हुन्छ। योसँगको सहकार्यलाई अगाडि कसरी बढाउने भनेर सोच्ने बेला आएको छ। दसैं अगाडिसम्मको क्यालेन्डर बनाएर जाने हो। संक्रमित क्षेत्रमा खुला गर्ने र अति संक्रमित क्षेत्रमा सिलबन्दी गरेर जाने योजना छ।
- स्वास्थ्य सचिव र महानिर्देशक फेरिनु स्वभाविक हो।
- म बाच्ञ्जेल स्वास्थ्यमन्त्री हुने होइन। यसमा कुनै भ्रम नहोस्। प्रधानमन्त्रीले चाहनुभयो भने अर्कोलाई जिम्मेवारी दिन पनि सक्नुहुन्छ।
मन्त्री ढकालको पूर्ण अन्तर्वार्ता हेर्न तलको भिडिओमा क्लिक गर्नुस्।