थप इरानी तेललाई भेनेजुएला पुग्नबाट रोक्न अमेरिकाको ट्रम्प प्रशासनले विदेशी सरकार, वन्दरगाह, ढुवानी कम्पनी तथा विमा कम्पनीहरूलाई इरानी तेल ओसारपसार गर्न कुनै पनि प्रकारको सहयोग गरे उनीहरूमाथि प्रतिबन्धको लगाउने चेतावनी दिएको छ।
भेनेजुएलाका लागि अमेरिकी दूतले शुक्रबार यस्तो चेतावनी दिइएको बताए।
भेनेजुएलाका लागि वासिङ्टनका विशेषदूत इलियट अब्राहम्सले यो अभियान कडा अमेरिकी प्रतिबन्धमा परेका इरान र भेनेजुलाप्रति लक्षित रहेकाले सरोकारहरूले यी दुई राष्ट्रलाई सहयोग गर्नु आफैमा एकदमै खतरनाक साझेदारी भएको बुझ्न चेतावनी दिएका छन्।
भेनेजुएलाको नौसेना बिहीबारमात्र तेल बोकेको चौथो इरानी जहाजलाई मुलुकमा सुरक्षा दिदैं प्रवेश गराएको थियो। चरम राजनीतिक संकटमा रहेको भेनेजुएलामा तेलको पनि चरम संकट रहँदै आएको छ। यही संकटका कारण भेनेजुएलला अमेरिकी चेतावनीका बाबजुत इरानी तेललाई देश भित्र्याउन सुरू गरेको छ। अर्को एक ट्यांकर भेनेजुएला आइरहेको रोयटर्सले जनाएको छ।
तेलको यो कारोवारले इरान र भेनेजुएलाबिच सम्बन्ध थप गहिरो हुने विश्वास व्यक्त गरिएको छ। दुबै अमेरिकाका कट्टर दुश्मन राष्ट्र हुन्।
भेनेजुएलामा अमेरिकाले राष्ट्रपति निकोलास मुदुरोको विपक्षी नेतालाई समर्थन गर्दै आइरहेको छ।
'हामीले यसबारेमा इरान र भेनेजुयलाकोबिचमा पर्ने जहाज मालिक, जहाज क्याप्टेन, जहाज विमक र बन्दरगाहहरूलाई सचेत गराइसकेका छौं', अब्राहम्सले एक अन्तरवार्तामा भने।
उनले निजीरूपमा विश्वका सरकारहरूलाई कुटनीतिक चेतावनी पठाइसकेको पनि बताए।
यस विषयका बारेमा जानकार एक व्यक्तिका अनुसार यसमा तेल ट्यांकरको बाटोमा पर्ने जिब्राल्टरसमेत परेको छ।
यसैगरी एक अमेरिकी अधिकारीले कयौं देशहरूलाई ती ट्यांकरहरूलाई बन्दरगाह सेवा उपलब्ध नगराउन भनिसकिएको बताएका छन्।
यस अमेरिकी प्रयासको असर कस्तो हुनेछ भन्ने बारेमा केही स्पष्ट भने भएको छैन।
पछिल्लो तथ्यांक अनुसार लाइबेरियाको झण्डा बहाक बेला र बेरिङ नामक दुई ट्याङकरहरूले मेको सुरूमा स्वेज पार गरेका छन्।
रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकाले इरानी तेललाई भेनेजुएला पुग्नबाट रोक्ने बाटोहरूको खोजीमा रहेको छ।
'मलाई लाग्दैन की जहाज मालिक र बिमक तथा क्याप्टेन र क्रूहरू भविष्यमा यस्ता कारोवारमा संलग्न हुनेछन्' यसबारेमा अब्राहम्सले टिप्पणी दिन अस्विकार गर्दै उनले भने।
उनले हाल भेनेजुयला पुगेका तेल केही साता लागि मात्र पुग्ने दाबी गरे। अमेरिकी प्रतिबन्धका कारण भेनेजुएलाको अर्थव्यवस्था हाल ध्वस्त छ।
अमेरिकाले यसै महिना इरान, उत्तर कोरिया र सिरियामाथि लगाइएको प्रतिबन्धमा सामेल नहुन भन्नका लागि यसै महिना जहाज कम्पनीहरूलाई एउटा निर्देशनहरू जारी गरेको थियो।
अमेरिकाले यी प्रकरणमा आफ्नो सामुन्द्रिक उपस्थिति भन्दा पनि आर्थिक प्रतिबन्धका उपायहरूमा जोड दिइरहेको छ।
इरान र भनेजुएलाले भने कुनै पनि प्रकारको सैन्य हस्तक्षेपका बारेमा नसोच्न अमेरिकालाई चेतावनी दिदैं आएका छन्।