महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारेका छन्।
शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको बताए।
‘हिंसामुक्त नेपाल निर्माण गर्न सरकारले आवश्यक सबै व्यवस्था मिलाएको छ,’ मन्त्री गुरुङले भने ‘त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ।’
उनले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिइएको समेत बताए।
मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि पुरुषहरुलाई सचेत बनाउन अभियान नै संचालन गर्ने घोषणा पनि गरेका छन्।