समाजावदी पार्टी(सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी नजन्मिँदै फुटको चरणमा पुगेको छ। नेतृत्वबीच पद र शक्ति बाँडफाँटको विषयलाई लिएर दुई पार्टी फेरि अलग हुने स्थितिमा पुगेका छन्।
नयाँ बन्ने पार्टीमा आफ्नो नेतृत्व सुनिश्चित नहुन्जेल सपाका अध्यक्ष उपेन्द्र यादवले एकतामा चासो नदिएको राजपा नेताहरूको आरोप छ।
राजपा स्रोतका अनुसार सपा अध्यक्ष यादवले केन्द्रीय कमिटीको शक्तिशाली अध्यक्षमा आफूलाई र ‘सेरेमोनियल' सरहका पार्टी संयोजक र संघीय परिषदको अध्यक्षमा महन्थ ठाकुर र बाबुराम भट्टराईलाई प्रस्ताव गरेका छन्।
यादवको सो प्रस्तावलाई राजपाले ठाडै अस्वीकार गरेको छ। राजपाले केन्द्रीय कमिटी अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई बनाउन प्रस्ताव गरेको छ।
राजपाले त्यस्तो प्रस्ताव पठाएपछि यादवले पार्टी एकतामा चासो देखाउन छाडेको आरोप राजपा नेताहरूको छ।
‘समानताका आधारमा पार्टी एकता हुने भनिएकाले हरेक पदमा बराबरीका आधारमा भागबन्डा हुनुपर्छ,’ राजपाका एक पदाधिकारीले सेतोपाटीसँग भने।
वैशाख १० गते मध्यरातमा जनता समाजवादी पार्टीको घोषणा हुँदा समानताका आधारमा पार्टी एकता हुने सहमति भएको थियो।
नेतृत्वको विवादले गर्दा सपा र राजपा मिल्नुअगाडि नै फुट्ने सम्भावना बलियो बन्दै गएको समाजवादीका एक नेताले सेतोपाटीलाई बताए।
‘दुई पार्टीको शक्ति बाँडफाँटमै कुरा मिलेको छैन,’ ती नेताले भने, ‘नयाँ पार्टीको नेतृत्व कसले लिने भन्नेमै सहमति हुन कठिन बन्दै गएको छ।’
प्रतिनिधि सभामा दुबै दलका १७-१७ जना सांसद छन्। प्रदेश २ को प्रदेश सभामा समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन्। राजपा छ वटा पार्टी मिलेर बनेको दल हो भने सपाको पार्टी संगठनमा यादवको एकछत्रझैं छ।
समाजवादी पार्टीका एक नेताले तीन कारणले दुई पार्टी एकता नहुनेतिर अग्रसर भएको बताए।
पहिलो, एकता प्रक्रिया ढिलो हुँदै जाँदा निर्वाचन आयोगमा सबै कागजात बुझाउने ४५ दिनको म्याद घर्किन लागेको छ।
जेठ २६ गतेसम्म पनि नयाँ पार्टीको घोषणा पत्र, विधान र दुबै पार्टीका केन्द्रीय सदस्यसहितको हस्ताक्षर नबुझाए पार्टी एकताका लागि फेरि नयाँ प्रक्रिया सुरू गर्नुपर्ने हुन्छ। अब त्यसका लागि १२ दिनमात्र बाँकी छ।
अर्को कारण हो, संविधान संशोधनको मतभेद।
ती नेताका अनुसार संसदमा दर्ता भएको नेपालको नक्सा संशोधन गर्ने प्रस्तावका पक्षमा समाजवादी पार्टी उभिने सम्भावना छ भने राजपाले विपक्षमा मतदान गर्ने मनस्थिति बनाएको छ। यस्तो अवस्थामा दुई पार्टीको एकता त्यही बिन्दुबाट भंग हुन सक्छ।
यद्यपी समाजवादी पार्टीका अर्का एक नेताले भने आफ्नो पार्टी पनि संविधान संशोधनको विपक्षमै उभिन सक्ने सम्भावना रहेको बताए।
'हाम्रो पार्टी धर्म संकटमा परेको छ। संविधान संशोधनको पक्षमा भोट हालौं, आफैंले स्वीकार नगरेको संविधान संशोधनलाई कसरी साथ दिने,’ उनले भने, ‘देशको नक्साको विपक्षमा मत हाल्न पनि गाह्रो छ। पार्टीले अन्तिममा के गर्छ भनेर अहिले नै सकिँदैन।’
राजपाका एक नेताले भने आफ्नो पार्टीले संविधान संशोधनको विपक्षमा मत दिने लगभग टुंगो भएको बताए।
‘हाम्रा मागलाई बेवास्ता गरेर ल्याइएको संविधान संशोधनले हामीलाई केही अर्थ राख्दैन,’ ती नेताले भने, ‘सरकारले हाम्रा मागलाई समेत सम्बोधन गर्ने गरी प्रस्ताव ल्याउँछ भनेमात्रै राजपा यसको पक्षमा रहन्छ।’
सरकारले लिम्पियाधुरासहितको नक्सालाई नेपालको संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ।
यी दुई सहायक भए पनि मुख्य कारण शक्ति बाँडफाँट नै रहेको दुबै पार्टीका नेता बताउँछन्।
'सतहमा जे-जस्ता कारण भए पनि मुख्य कारण शक्ति बाँडफाँट नै हो,’ एक नेताले भने, ‘पदमा कुरा नमिलेपछि अरू नै बहाना बनाएर नेताहरू पन्छिन चाहन्छन्।'
केन्द्रीय कमिटीको अध्यक्ष को बन्ने भन्ने रस्साकस्सी चलिरहँदा दुबैले एक अर्काको पार्टीमा खेल्न खोजेकोसमेत आरोप-प्रत्यारोप भित्रभित्रै चल्न थालेको छ।
विशेषगरि राजपाले सपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई उपेन्द्र यादवविरूद्ध प्रयोग गर्न खोजेको यादवनिकट नेताहरूको आरोप छ। अर्कोतिर राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव सपा अध्यक्ष उपेन्द्र यादवतिर निकट हुन थालेको आरोप छ।
महन्थ ठाकुरलाई केन्द्रीय अध्यक्ष र बाबुराम भट्टराईलाई संघीय परिषदको संयोजक बनाएर नयाँ पार्टी दर्ता गर्ने प्रस्ताव राजपाले राखेपछि उपेन्द्र यादव झस्किएका छन्।
‘पहिला उपेन्द्रजीले बाबुरामजीलाई आफ्नो पार्टीमा ठाउँ दिनुभयो। अहिले बाबुरामजीकै कारण उपेन्द्रजी अप्ठेरोमा पर्नुभएको छ,’ यादवनिकट एक नेताले भने, ‘उपेन्द्रजीकै कारण अहिले पार्टी एकता हुन नसकेजस्तो पार्न खोजिएको छ।’
उपेन्द्र यादव एकीकृत पार्टीको केन्द्रीय अध्यक्ष हुन चाहन्छन्। अध्यक्ष नहुने अवस्थामा उनले कुनै हालतमा पार्टी एकता नगर्ने उनी निकट नेताहरू बताउँछन्।
'अहिलेसम्म सपा उपेन्द्रजीकै कमाण्डमा छ। उहाँकै बलबुतामा पार्टी बनेको हो,’ ती नेताले भने, ‘आफैंले बनाएको पार्टी एकीकरणपछि अर्कैको हातमा जाने हो भने किन एकता गर्ने?'
अर्कोतिर राजपा नेताहरू उपेन्द्र यादवलाई नयाँ पार्टीको नेतृत्व दिन तयार छैनन्। बरू उनीहरू यादवको सट्टा बाबुरामलाई अगाडि बढाउन चाहन्छन्। त्यसको विशेष अर्थ छ। जुन कुरा उपेन्द्र यादवले राम्रोसँग बुझेका छन्।
'उपेन्द्रजीलाई छाँयामा पारेर बाबुरामजीलाई अगाडि बढाउँदा मधेसमा राजपाका नेताहरूको एकछत्र हुन्छ भन्ने उहाँहरूलाई लागेको छ,’ ती नेताले भने, ‘उपेन्द्रजीले यति नबुझ्ने कुरै छैन। म दाबाका साथ भन्न सक्छु आफू केन्द्रीय समिति अध्यक्ष नहुने हो भने उपेन्द्रजीले पार्टी एकता गर्नुहुन्न।'
पार्टी एकता प्रक्रियामा जटिलता आए पनि उपेन्द्र यादवलाई केन्द्रीय कमिटी अध्यक्ष बनाएर एकता गर्न नसकिनेमा आफूहरू स्पष्ट रहेको राजपाका एक पदाधिकारीले सेतोपाटीलाई बताए।
‘उपेन्द्रजी, जसले आफ्नै पार्टी एक राख्न सक्नुभएको छैन उहाँलाई कसरी नयाँ पार्टीको नेतृत्व दिन सकिन्छ,’ राजपाका ती पदाधिकारीले भने, ‘हामीले त उहाँको पार्टी फुट्दाफुट्दै जोगाइदिएको हो। नयाँ पार्टी हाँक्ने ल्याकत उहाँसँग छैन। हामीले जे प्रस्ताव पठाएका छौं, त्यसमा मान्ने हो भने पार्टी एकता हुन्छ नमानेमा हुँदैन।'
नयाँ पार्टीको अध्यक्ष बन्ने नै उपेन्द्र यादवको चाहना हो भने पार्टीमा दुई अध्यक्ष बनाउन सकिनेसमेत राजपाको प्रस्ताव छ। तर उनलाई एकल अध्यक्ष भने दिने पक्षमा राजपा छैन।
पार्टीको एउटा कार्यकारी पदमा मधेसी समुदायको व्यक्ति भए अर्को पदमा पहाडी समुदायको व्यक्ति हुनुपर्ने मत रहेको छ। यो मत राख्नेमा सपाकै नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठलगायत छन्।
अहिलेलाई आफ्नो पार्टीमा आएको फुटको खड्को टरिसकेकाले सम्झौता गर्ने पक्षमा यादव देखिन्नन्।
'सुरूदेखि आफ्नै होल्डमा पार्टी र यसको संगठन आफ्नै नियन्त्रणमा राखेकाले उहाँ पदाधिकारी या वरिष्ठ नेता भएर बस्ने कल्पनै गर्न सकिँदैन,’ यादव निकट नेताले भने, ‘आफ्नो खड्को पार गरिहाल्नुभयो, त्यही भएर उहाँले एकताका लागि हतार गर्नुभएको छैन।’
वैशाख १० गते समाजवादीका ७ जना सांसदले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाउने योजना बनाएका थिए। त्यही कारणले दुई पार्टीबीच रातारात एकता भएको थियो।
सपा फुटाउने उद्देश्यका साथ सरकारले अघि बढाएको अध्यादेशको आफ्नै पार्टीभित्र र बाहिर तीव्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अध्यादेश फिर्ता लिएका थिए।
सपाका एक नेताका अनुसार उपेन्द्र यादवले व्यक्तिगत स्वाभावका कारण पनि पार्टी एकताका लागि धेरै चासो नदेखाएका हुन्।
'उहाँ पार्टी अध्यक्ष हो, एक्लै पार्टी चलाउने अध्यक्ष। उहाँले आफ्ना कुरा कसैलाई भन्नुहुन्न। अरूका कुरा सुन्नुहुन्न,’ ती नेताले भने, ‘उहाँले धेरै कुरा भन्ने रेणु(रेणु यादव)जीलाई हो। तर उहाँले पार्टी फुटाउन खोजेपछि अहिले पानी बारबारजस्तो छ।’
समाजवादी पार्टी जस्तोगरी एकीकृत पार्टी चलाउन यादवलाई सम्भव हुने छैन।
‘त्यति धेरै नेता, त्यति धेरै खिचातानी कसरी ब्यहोर्ने भन्ने पनि उहाँलाई परेको होला,’ ती नेताले भने।