प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनका लागि केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिले यसबारे निर्णय गर्ने जानकारी गराएका हुन्।
'हामीले प्रधानमन्त्रीलाई संविधान संशोधनमा हाम्रो सहमति भएको जानकारी गरायौं। पदाधिकारी बैठकबाट निर्णय पनि गरिसकेका छौं,' बैठकपछि कांग्रेस नेता कृष्ण सिटौलाले भने, 'हामीले अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउनुपर्छ भनेर भन्दै आएको हो। यसबारे हामी केन्द्रीय कार्यसमिति बैठकबाटै निर्णय गर्छौं।'
प्रधानमन्त्री ओलीले सीमा, राष्ट्रिय अखण्डता र भौगोलिक अखण्डताको विषय भएकाले सर्वसम्मतिबाट अगाडि बढ्नुपर्ने कुरा बताएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकको सुरूमै प्रधानमन्त्री ओलीले निसान छाप परिवर्तनका लागि संविधान संशोधनको गर्न लागेको बताएका थिए।
बैठकमा जनता समाजवादी पार्टीका नेताहरूले यही बेला मधेसी, जनजातिका मागसमेत सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव ल्याउन माग गरेका थिए।
जनता समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिएर आदिवासीहरूलाई पनि संविधान संशोधनमा समेट्न आग्रह गरेका थिए।