रूकुम पश्चिमस्थित चौरजहारी नगरपालिका वडा नम्बर ८ मा गत शनिबार भएको घटना दलित समुदायमाथिको हिंसा भएको नेपाली कांग्रेसले बताएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर रूकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा कांग्रेसले लिएको उल्लेख गरेका छन्।
‘कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न कांग्रेस माग गर्दछ,’ शर्माले भनेका छन्।
गत शनिबार जाजरकोटका नवराज विक आफ्ना १८ जना साथी लिएर प्रेमिकाको घर चौरजहारी पुगेका थिए। उनीहरूमाथि वडाध्यक्षकै नेतृत्वमा आक्रमण भएको आरोप छ। घटनामा नवराजसहित तीनको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
यस्तो छ शर्माले निकालेको विज्ञप्ति:
रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेको छ।
घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ। देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ।
घटनाले उब्जाएको ३ प्रश्न:
- सामाजिक विभेद र बिसंगतिको प्रश्न
कानूनी रूपमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ। नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ।
- राज्य प्रशासनको भूमिकामा प्रश्न
लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो। राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा। नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ।
- निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न
केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं। जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ।