समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)बीच पार्टी एकता भएको एक महिना बितिसक्दा पनि नेतृत्व व्यवस्थापनमा सहमति हुन सकेको छैन।
समाजवादी पार्टीका तर्फबाट नयाँ बन्ने पार्टी जनता समाजवादी पार्टी(जसपा)को मूल नेतृत्वमा दाबी आएपछि सहमति हुन नसकेको राजपाको आरोप छ।
स्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीको केन्द्रीय अध्यक्ष बन्न चाहेका छन् भने संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराईलाई बनाउने प्रस्ताव गरेका छन्।
पार्टीको संयोजक महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरिए पनि कुनै अधिकार दिन नखोजिएको राजपाका एक पदाधिकारीले सेतोपाटीलाई बताए।
'उपेन्द्रजीको प्रस्तावलाई हामीले अस्वीकार गरेका छौं, 'राजपाका एक नेताले भने,'हामीले केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई बनाएर अगाडि बढौं भनेका छौं। उहाँहरूको प्रतिक्रिया आइसकेको छैन।'
ती नेताका अनुसार समाजवादी पार्टीका अध्यक्ष यादवले पार्टीको कमाण्ड आफूमै केन्द्रित गरेर सेरेमनियल पदमात्रै राजपालाई दिन खोजेका छन्।
समाजवादी पार्टीले भने दुवै पार्टीका नेताहरूलाई समानताका आधारमा जिम्मेवारी दिन लागिएको बताएको छ।
यद्यपी समाजवादी पार्टीका एक नेताले संघीय परिषद् र केन्द्रीय समितिको अध्यक्ष आफ्नै नेता हुनुपर्ने दाबीलाई भने अस्वीकार गरेनन्।
नयाँ पार्टीमा विभिन्न समितिका अध्यक्षहरू राख्ने,वरिष्ठ नेता,सह-अध्यक्ष, अध्यक्ष,उपाध्यक्ष,महासचिव,सह महासचिव र कोषाध्यक्ष राख्ने विषयमा भने सहमति भइसकेको छ।
पदाधिकारी दुवै पार्टीबाट बराबार राख्ने समेत सहमति पनि जुटेको छ।
७ सय १ जनाको केन्द्रीय समिति,राजनीतिक समिति १ सय ५१ सदस्यीय र कार्यकारिणी समिति ५५ जनासम्मको हुने सहमति भएको छ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टी एकताका काम सकारात्मक ढंगले अगाडि बढेको दाबी गरे।
उनले नेतृत्वको विषयमा विभिन्न विकल्पबारे छलफल भइरहेको समेत जानकारी दिए।
'पार्टीको केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई बनाएर निर्वाचन आयोगमा दर्ता गरिहाल्ने र बाँकी विषयपछि मिलाउने भन्नेबारे छलफल भएको छ,'महतोले भने,'नेतृत्वको व्यवस्थापनबारे विभिन्न प्रस्तावमा छलफल भइरहेको छ। नेतृत्वको कार्यविभाजन अहिले गर्ने कि पछि गर्ने भन्नेमा अझै छलफल जारी छ। एउटा मत अहिले गरौं भन्नेछ भने अर्को मत निर्वाचन आयोगमा दर्ता भएपछि गर्दा पनि हुन्छ भन्ने रहेको छ।'
महतोले घोषणापत्र र विधान लेखनको काम भइरहेको समेत जानकारी दिए।
समाजवादी पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी एकताका काम सकारात्मक तरिकाले अगाडि बढेको बताए।
सबभन्दा माथि विभिन्न तहहरूको संयोजक महन्थ ठाकुर रहने,संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई केन्द्रीय कमिटी अध्यक्ष बनाउने र अर्को अध्यक्ष राजपाका तर्फबाट बनाउनेगरी समेत छलफल भएको उनले बताए।
संघीय परिषद्,केन्द्रीय समिति र केन्द्रीय आयोगहरूको संयोजक ठाकुरलाई प्रस्ताव गरिएको उनले बताए।
श्रेष्ठका अनुसार माथिल्लो तह महाधिवेशन,महाधिवेशनपछि संघीय परिषद्,त्यसपछि केन्द्रीय समिति,प्रदेश समिति,पहिचानमा आधारित राष्ट्रिय समिति,जिल्ला समन्वय समिति,पालिका समिति,वडा समिति र प्रारम्भिक समिति हुनेछ।
केन्द्रीय समितिको समकक्षमा पाँच वटा समिति रहनेछन् जसमा केन्द्रीय सल्लाहकार समिति,विज्ञ परिषद्,केन्द्रीय अनुशासन आयोग,केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा परिक्षण आयोग पर्नेछन्।
केन्द्रीय समितिका अंगका रूपमा राजनीतिक समिति हुने,केन्द्रीय कार्यकारिणी समिति र सचिवालय हुने श्रेष्ठले बताए।
'सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वलाई अवलम्बन गर्ने सहमति भएको छ,'श्रेष्ठले भने,'वैचारिक कुरा संगठनात्मक कुरा लगभग सकिएको छ। अब नेतृत्वको टुंगो लगाउने काम बाँकी छ।'
पार्टीको रणनीतिक लक्ष्य संघीय शासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्र हुने
नेपालमा प्रशासनिक मोडलको संघीय शासन रहेकाले पहिचान सहितको संघीयतालाई घोषणापत्रमा राख्न लागिएको श्रेष्ठले बताए।
'राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसारको संघीयता हुनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हो। समुन्नत संघीय शासन प्रणालीमा हामी सहमत भइसकेका छौं,'उनले भने,'हाम्रो रणनीतिक लक्ष्य संघीय शासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्रको स्थापना हो।'
समुन्नत संघीय समाजवाद,पहिचान सहितको संघीयता,सहभागितामूलक समावेशी लोकतन्त्र र बहुलतायुक्त राष्ट्रवाद हाम्रा मुख्य कार्यक्रम रहनेछन्।
परराष्ट्र नीतिमा शान्तिपूर्ण सह-अस्तित्वका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित हुनुपर्छ भन्ने मान्यता रहेको उनले बताए।
'दुई छिमेकीसँग समान सम्बन्ध स्थापित गर्नुपर्छ। मुलुकको राष्ट्रिय स्वाधिनता अखण्डता र सार्वभौमसत्ता भूपरिवेष्टित राष्ट्रको अधिकारमा सचेत रहनुपर्छ भन्ने हाम्रो मान्यता हो,'उनले भने,'देशहरू साना ठूला हुनसक्छन् तर सार्वभौमसत्ता सानो ठूलो हुँदैन भन्ने पार्टीको स्पष्ट नीति हो।'
समाजवादी पार्टी र राजपाबीच वैशाख १० गते पार्टी एकता भएको थियो। नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने सूचना निर्वाचन आयोगमा दिए पनि दर्ता हुन सकेको छैन।