प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने भएको छ।
आइतबार बसेको पदाधिकारी बैठकले अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा राख्न सरकारले संसदमा लगेको प्रस्तावमाथि समर्थन गर्ने निष्कर्ष निकालेको हो।
उक्त विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पनि राख्ने बताएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले छिट्टै केन्द्रीय समिति बैठक बस्ने सेतोपाटीलाई बताए।
‘सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय पदाधिकारी बैठकले गरेको छ,’ उनले सेतोपाटीसँग भने।
सन् १८१६ को सुगौली सन्धीको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको कांग्रेसको भनाइ छ।
‘पदाधिकारी बैठकले नेपाल सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न फेरि पनि माग गर्ने निर्णय गरेको छ,’ उनले भने।