लकडाउनले सबभन्दा ठूलो मार कृषि क्षेत्रमा पारेको छ। कृषकका उत्पादन बजारमा पुग्न सकिरहेका छैनन्। तरकारी, फलफूल बारीमा कुहिएका छन्। मासुको खपत नबढेपछि कृषकहरू कुखुराका चल्ला नष्ट गर्न थालेका छन्। उत्पादन र वितरण व्यवस्थामा उत्पन्न समस्याले भविष्यमा खाद्य संकटको चुनौती समेत देखिएको छ। वैदेशिक रोजगार गुमाएका १० लाख नेपाली श्रम बजारमा फर्कने अवस्थामा छन्। यस्तो अवस्थालाई सरकारले कसरी हेरिरहेको छ भन्ने विषयमा कृषि मन्त्री घनश्याम भुसालसँग सेतोपाटीका मनोज सत्यालले कुराकानी गरेका छन् -
अन्तर्वार्ताका मुख्य बुँदा-
-लकडाउनले सबभन्दा धेरै समस्या पोल्ट्री, माछापालक, दूध र तरकारी क्षेत्रमा परेको छ। यी क्षेत्रमा हामीले ध्यान पुर्याउन नसके उद्योग नै खत्तम हुनसक्छ। यी क्षेत्रलाई केही राहत र उद्दारको काम गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। तर निर्णय गर्न सकिराखेका छैनौं। मैले मन्त्रिपरिषद्लाई कन्भिन्स गर्न सकेको छैन।
-तथ्यांकले हामी मासुमा आत्मनिर्भर भयौं भन्छ। एक जना स्वस्थ व्यक्तिले वर्षमा साढे १४ किलो मासु खान्छ भन्ने हाम्रो हिसाब हो। तर तराईको दलितले त्यति खान पाएको छ कि छैन? जुम्लामा खान पाएका छन् कि छैन भन्ने कुनै हिसाब छैन। मासुको उत्पादन बढेको छ। खपत पनि बढेको छ। तर उत्पादन चितवनमा बढेको छ खपत काठमाडौंमा। मासु उत्पादनमा ६० देखि ६५ प्रतिशत योगदान दानाको हुन्छ। तर हामी दानामा ८० प्रतिशत परनिर्भर छौं। त्यसैले माछा मासुमा आत्मनिर्भर छौं भन्न सकिन्न।
-काठमाडौंबाट हजार किलोमिटर टाढा भारतबाट तरकारी आउँछ। तर नजिकै रहेको काभ्रेको नेपालथोक र धादिङको माथिल्लो भेगबाट राजधानी आउने अवस्था छैन। किनभने मार्केट सिस्टम, राख्ने ठाउँ व्यवस्था छैन। मेरो जोड बजेटमा स्थानीय तहमा मल बिउको डिपो, भण्डारणको व्यवस्था, नर्सरीको व्यवस्था गरेर पालिकाहरूलाई उत्पादन, भण्डारण र वितरणमा सहभागी गराउनेमा छ।
-यसपटक गत वर्षको तुलनामा २० प्रतिशत बढी मल बजारमा पठाइएको छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाटै मल ल्याउने गरेका थिए। यसपटक सीमा क्षेत्रमा मल नआएका कारण बढी गएको हुनसक्छ। तर हामी कोशिस गरिरहेका छौं। कोरोनाका कारण ओमानमा २० हजार मेट्रिकटन मल रोकिएको छ। कलकत्तामा पनि केही रोकिएको छ।
-देशको ६० प्रतिशत मान्छे कृषिमा लाग्दा समेत खान नपुग्ने अवस्था दुखद् हो। यसलाई सम्बोधन गर्नुपर्नेछ। कृषिमा आश्रित मान्छे घटाउनुपर्ने र उत्पादन २७ प्रतिशतबाट बढाउनुपर्ने हो। तर अहिले १० लाख विदेशमा काम गर्न गएका फर्कने अवस्था छ। ५ लाख हाम्रा छोराछोरी १६ वर्ष कटेपछि श्रम बजारमा आउने छन्। हामीले १५ देखि २० लाखका लागि व्यवस्था गर्नुपर्नेछ। त्यस हिसाबले त्यही कृषि जहाँ श्रम बढी थियो, त्यहाँ श्रम थप्नुपर्नेछ। यो ठूलो चुनौती छ।
-हाम्रो ध्यान मल, बिउ र उत्पादनका सामग्री सस्तो गर्नेमा छ। मैले साना किसानले निर्ब्याजी, अलिक ठूलालाई ३ प्रतिशत र ठूलालाई ५ प्रतिशतमा ऋण दिऔं भन्ने गरेको छु। तिनीहरूले उत्पादन गरेको वस्तुमा १५ देखि २० प्रतिशत बचत हुनेगरी बजारको व्यवस्था मिलाउनुपर्छ भनेर काम गरिरहेको छु। यो जटिल छ तर गर्नैपर्ने काम छ। यति गर्न सकेमात्र हामीले ५ लाख मानिसलाई कृषिमा रोजगारी दिन सक्छौं।
-कृषिमा नपाउनेले अनुदान पाए, पाउनुपर्नेले पाएनन्। त्यसैले सबैले पाउने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो मत हो। जस्तो: ४३ रुपैयाँ किलोमा हामी युरिया मल किन्छौं,कृषकलाई १४ रुपैयाँमा बेच्छौं। त्यो मलको सुविधा उसले पाउँछ, जसले प्रयोग गर्छ। त्यसैले हामीले के भनेका छौं भने विद्युत जसले प्रयोग गर्छ उसलाई सुविधा दिऔं। जसले बिउ प्रयोग गर्छ उसलाई दिऔं। जसले ऋण लिन्छ उसलाई दिऔं। अंग्रेजीमा राम्रो प्रपोजल लेख्नेलाई नदिऔं। त्यसले दुरूपयोग भयो।
-कृषि भनेको ६ महिनाको बच्चा रहेछ। कहिल्यै ७ महिनाको नहुने रहेछ। निरन्तर स्याहार चाहिने रहेछ। त्यो हाँस्दै छ कि रूँदैछ अथवा दुखी छ हेरिराख्ने कुरा हरेछ। यो मानव जीवन र राष्ट्रिय सुरक्षासँग जोडिएको छ।
-कृषकलाई यस्तो बिउ रोप्नुस्, यसरी स्याहार गर्नुस्, यो मल हाल्नुस्, अब काट्नुस्, यसरी भण्डारण गर्नुस् भन्ने सुविधा देशव्यापी रूपमा दिने हामीले भनेका छौं। कर्णाली र यस्ता प्रदेशमा कृषि मन्त्रालयले खाद्य सुरक्षाका हिसाबले पनि बढी जोड दिनुपर्ने छ। हामी बजेटमा त्यसरी बन्दोबस्त गर्छौं। जुन उत्पादनमा कर्णाली अगाडि आउन सक्छ त्यसमा सहयोग गर्छौं।
-खाद्यान्नको हिसाबले १ करोड मेट्रिकटन उत्पादन भए हामी पालिने अवस्था छ। त्यति गर्न सकिन्छ होला भन्ने लाग्छ। तर यो संकटको बेलामा हामीलाई खाद्य संकट पर्न सक्छ। मैले कोरोना सुरू भएलगत्तै डेढ महिनाअघि नै पालिका र सांसदहरूलाई बाँझो जमिन उपयोग गर्न र उत्पादन बढाउन सहकार्य गरौं भनेको छु। यो चुनौतीले सामना गर्ने हिसाबले लाग्दा दु:ख भए पनि पुर्याउन सक्छौं। तर कृषिमा थोरै पनि असावधानीले हामी नराम्ररी खाद्य संकटमा फस्न सक्छौं।
यो पनि :
एक व्यक्ति एक पद भन्ने कुरालाई मौसमी कुरा बनाउनु हुँदैन : घनश्याम भुषाल