जेठ ४ गते काठमाडौंका विभिन्न ठाउँमा नेपाली सेना सडकमै ड्युटी गरिरहेको देखियो। सो क्रम जेठ ५ गते सोमबार पनि जारी रह्यो। सामान्य अवस्थामै ट्राफिक र जनपद प्रहरीसँगै नेपाली सेना पनि किन सडकमा उत्रियो भनेर सर्वत्र चासो उत्पन्न भएको छ। महाराजगञ्ज, थापाथली, कालिमाटी लगायतका चोकहरूमा उनीहरू देखिएका छन्।
नेपाली सेनाका अनुसार पछिल्लो दुई दिनदेखि सडकमा देखिएका सैनिक प्रहरी हुन्। सेनाका जवान र सैनिक प्रहरीको पोसाक उस्तै हुन्छ। तर सैनिक प्रहरीको पोसाकमा पाखुरामा रातो कपडा हुन्छ। उक्त कपडाको माथिल्लो भागमा अंग्रेजीमा 'एम-पी' अर्थात् 'मिलिटरी पुलिस' र तल्लो भागमा सैनिक प्रहरी लेखिएको हुन्छ।
सैनिक पोसाकको दुरुपयोग र कतिपय सैनिकले अवाञ्छित गतिविधि गरेको सूचना आएपछि त्यो क्रम नियन्त्रण गर्न सैनिक प्रहरी खटाइएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।
'अहिले हामी लकडाउनमा छौं। ब्यारेकहरू पनि लकडाउनमा छन्। जंगी अड्डामा पनि न्यूनतम मात्रै आएका छौं। जरूरी अफिसहरू मात्रै खुलेका छन्,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘यस्तो अवस्थामा समेत सैनिक कपडा लगाएका व्यक्तिको गतिविधि बढ्यो भनेर हामीलाई सूचना आयो। त्यही भएर हामीले सडकमा ट्राफिक प्रहरीको समन्वयमा केही चेक प्वाइन्ट खडा गरेका हौं।'
अवकाश पाएका व्यक्तिहरूले पनि आफूसँग भएका सैनिक कपडा अरूलाई दिएर प्रयोग गरेको भन्ने सूचना आएकाले यस्तो गरिएको उनले बताए।
समाजमा बहालवाला वा भूतपूर्व सैनिकले अवाञ्छित गतिविधि गरेमा त्यसको नियन्त्रण गर्ने जिम्मेवारी सैनिक प्रहरीको भएको पनि उनले बताए।
'सैनिक प्रहरीले बहालवाला र भूपू सैनिकको गतिविधि निगरानी गर्न सक्छ। त्यसैका लागि सडकमा जाँदा उसले कार्यक्षेत्रभन्दा बाहिर गएर काम गरेको छैन,’ पाण्डले भने, ‘यस्तो बेलामा गैरसैनिकलाई मर्का नपरोस् भनेर हामीले ट्राफिक प्रहरीको समन्वयमा काम गरेका हौं।’
सैनिक प्रहरीलाई सैनिक ऐनले नै दिएको अधिकारअनुसार काम लगाइएको पनि उनले दावी गरे।
सैनिक ऐन २०६३ को दफा ७८ मा सैनिक प्रहरीको व्यवस्था छ। दफा ७८ को उपदफा २ मा सेनामा सुव्यवस्था र अनुशासन कायम गराउनु र सेनामा सम्मिलित वा सेवारत व्यक्तिबाट सुव्यवस्था र अनुशासन भंग हुने कार्य हुन नदिनु सैनिक प्रहरी प्रमुख कर्तव्य हो भनिएको छ।
सैनिक प्रहरी सम्बन्धी नियमावली २०५८ मा अनुशासन कायम गर्ने व्यवस्था अन्तर्गत सैनिक प्रहरीले नेपाली सेनामा अनुशासन कायम गराउन-गर्न सक्ने कामहरूको उल्लेख छ।
जसको पहिलो बुँदामा नेपाली सेनाका व्यक्तिको संलग्नतामा अवैध कार्य हुने सम्भावित स्थानहरू पत्ता लगाई त्यस्ता स्थानमा पैदल र मोबाइल गस्तीद्वारा अवैध कार्य नियन्त्रण गर्ने उल्लेख छ।
त्यस्तै, दोश्रो बुँदामा नेपाली सेनाका शंकास्पद व्यक्तिहरू उपर आवश्यक निगरानी राख्ने भनिएको छ।
सैनिक प्रवक्ता पाण्डेले आवश्यकताअनुसार सैनिक प्रहरीले ब्यारेक बाहिर गएर सैनिक गतिविधि निगरानी गर्नु कानुनसम्मत रहेको बताए।
गृह मन्त्रालयले २०७६ साउन १३ गते सर्वसाधरणका लागि परिपत्र समेत जारी गरी अनधिकृत रूपमा सैनिक पोसाकको बिक्री-वितरण र प्रयोग नगर्न आह्वान गरेको समेत उनले बताए।
गृहकै निर्णयका आधारमा पनि सैनिक पोसाकको अनाधिकृत प्रयोग भए-नभएको अनुगमन गर्न सैनिक प्रहरीले पाउने उनको दावी छ।
सडकमा खटिएका सैनिक प्रहरीहरूले व्यवहारिक नभई नागरिकहरूसँग अन्यथा व्यवहार गरेमा त्यसको छानबिन गरिने पनि उनले बताए।
सैनिक अनुशासन र आचरण कायम गर्न गरिएका गतिविधिलाई नकारात्मक नठान्न पनि पाण्डेले आग्रह गरे।