नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न प्रस्ताव गरेकी छन्।
प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा सोमबार उनले यस्तो माग गरेकी हुन्।
उनले त्यसरी गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि राख्न उनले सुझाइन्।
'वार्ता टोली बनाउनुपर्छ', कोइरालाले भनिन्, 'म नेतृत्व गर्न तयार छु। म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छुजस्तो लाग्छ।'
उनले भारतसँग वार्ता गर्न विश्वासको वातावरण आवश्यक हुने उल्लेख गरिन्। 'भारतले बंगलादेशसँगको सीमा समस्या समाधान गरेको छ', उनले बैठकमा भनिन्, 'वार्ता गर्न सरकार र पार्टीसँग विश्वास हुनुपर्छ।'
विपक्षी दल तथा सत्तासिन दलकै नेताहरूबाट सीमा मिचिएको विषयमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेका समयमा नेतृ कोइरालाको यस्तो भनाइ आएको हो।
यसैगरी केही संचारमाध्यममा आफूले कालापानी भारतलाई दिनुपर्छ भनेको समाचार आएको उल्लेख गर्दै उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको भएपनि अब सो प्रस्तावको औचित्य सकिएको बताइन्।
आफूले कालापानी नेपाल होइन भनेको भनेर समाचार आएको प्रति उनले आपत्ती प्रकट गरिन्। 'कालापानीमा स्ट्याण्ड लिदाँ म राजनीतिमा पछि परेँ', उनले भनिन्, 'लिजमा दिउँ भनेको हो। बेच्नुपर्छ भनेको होइन।'
त्यसैगरी नेतृ कोइरालाले नेताहरूबाट चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको धारणा राखिन्। उनले आफूलाई कसँगसग डर नभएको र अहिलेसम्म कसैको केही पनि नलिएका कारण प्रष्ट रुपमा धारणा राख्न सक्ने बताइन्।'
उनले भारतँग अब नेगोशिएसनमा जानुपर्ने तर्क गरिन्।
'हामीले भारतसँग सीमाको विषयमा नगोशिएसन गर्नुपर्छ। बरु बंगलादेशसँग बन्दरगाह लिएर त्यतापट्टी पहुँच बढाउनुपर्छ', कोइरालाले भनिन्।