नेकपा महासचिव विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेश आवश्यक थिएन भन्ने ठानेर नै फिर्ता भएको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै नेकपा महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत र पार्टी मतलाई सम्मान गरेर फिर्ता लिएकोसमेत बताए।
संवैधानिक परिषदमा विपक्षी दलको नेता नहुने भन्ने प्रश्नै नहुने भन्दै महासचिव पौडेलले संवैधानिक निकायमा लामो समयदेखि पदपुर्ति गर्न नसकिएकाले अध्यादेश ल्याइएको बताए।
सांसद अपहरण गरिएको भनेर गलत हल्ला फैलाइएको भन्दै पौडेलले यसको छानबिनसमेत भइरहेको बताए।
नेकपाभित्रको विवाद करिब टुंगिसकेको दाबी गर्दै उनले पार्टीभित्र सहमतिको वातावरण बनिसकेको जिकिर गरे।
'पार्टीभित्रको विवाद एकतामा टुंगिन्छ अन्त कहीँ ठाउँ छैन। विश्वास र सहमतिमा टुंगिने वातावरण तयार भएको छ,' उनले भने,'वैशाख २० गतेको बैठकदेखि धेरै विषय मिलेको छ। १७ गतेको बैठकमा असहमति उत्कर्षमा थियो। पार्टी एकता भएपछि अन्तरविरोध र विमतिको उत्कर्ष त्यही बैठकमा देखियो। हाम्रो नेतृत्व कुशल छ जसले अत्यन्त कठिन र जटिल ठानिएको समस्यालाई पनि सहज ढंगले समाधान दिन्छ।'
आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न कुनै प्रस्ताव नराखेको भन्दै महासचिव पौडेलले यस्ता विषयवस्तु तथ्यहीन भएको समेत बताए। यिनै विषयमा समन्धित रहेर हामीले नेकपा महासचिव विष्णु पौडेलसँग भिडिओ कुराकानी गरेका छौं।
यस अन्तर्वार्ताका मुख्य विषयहरू
-एजेण्डाका हिसाबले स्थायी समिति बैठक आजभोलि बस्नपर्छ भन्ने छैन तर यो अनिश्चितकालका लागि सारिएको होइन।
-नेकपा विभाजनउन्मुख छ भनेर गरेको आशंकालाई विश्वासमा बदल्न सक्ने खुबी हाम्रो नेतृत्वसँग छ।
-२० गतेको सहमतिबाट अध्यक्षद्वय पछाडि फर्किन मिल्दैन। एकतावद्ध भएर कमीकमजोरी सुधार्दै अगाडि बढ्नुको विकल्प छैन।
-अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एकबाट राजीनामा गर्नु समस्याको समाधान होइन।
-अबको महाधिवेशनसम्म अध्यक्ष र आमनिर्वचनसम्म ओली नै प्रधानमन्त्री हो।
-मंसिर ४ को निर्णयको कार्यान्वयनका सम्बन्धमा व्यवहारिक कठिनाइ भए पार्टीमा छलफल होस्। तर मंसिर ४ को सहमतिबाट दाँयाबाँया गएर समाधान हुँदैन।
-दुई अध्यक्षको सम्बन्ध एकदमै राम्रो छ। बाहिर अनेक आशंका हुन्छ। उहाँहरूको खुलस्त र जीवन्त छलफल हुन्छ। दुबैको विशेषता खुलस्त छलफल गर्ने हो।
-माधव नेपालसँग पनि प्रधानमन्त्रीको राम्रो सम्बन्ध छ। एक घन्टाका लागि बस्दा २-३ घन्टासम्म छलफल हुन्छ। विगतदेखिका कुराकानी हुन्छन्। केही विमति छन् होला तर राम्रो छ।
-नेपाली भूमिमा भारतले सडक बनाउनु गलत हो। यसलाई कूटनीतिक तरिकाले समाधान गर्नुपर्छ।
महासचिव पौडेलसँगको कुराकानीको पूरा अंश भिडिओमा हेर्नुस्।