नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्यहरूले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्ड र नेपालनिकट स्थायी समिति सदस्यको भेलाले अविलम्ब स्थायी कमिटी बैठक बोलाउन माग गरेको हो।
यसअघि बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक बुधबार साँझ स्थगित गरिएको थियो।
स्थायी समिति सदस्यको भेलाले स्थायी कमिटी बैठक बोलाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले सेतोपाटीलाई बताए।
'अरू जति पनि विषय छन् सबैलाई स्थायी कमिटिमा राख्ने भन्ने भएको छ। कमिटी प्रणालीमा छलफल गरेर पार्टीका कामलाई अगाडि बढाउनुपर्छ भनेर हामी एकमत भएका छौ,' ज्ञवालीले भने,'स्थायी कमिटीबाट धेरै विषय हल गर्न सकिन्छ। लकडाउन लम्बिएको छ, यो कहिलेसम्म जान्छ। यसले पार्ने संकट र यसको समाधान कसरी गर्ने भनेरसमेत पार्टीमा छलफल हुँदा सरकारलाई नै फाइदा पुग्छ।'
नीति तथा कार्यक्रम र बजेट बनाउनेबारे समेत पार्टीमा छलफल जरूरी रहेको उनले बताए।
'लकडाउनपछिको अर्थतन्त्र कसरी अगाडि बढ्छ भनेर पार्टीमा छलफल गर्दा राम्रो हुन्छ,' उनले भने,'पार्टी एकताको कामलाई अगाडि बढाउने पार्टीलाई एकतावद्ध गर्नसमेत स्थायी समितिले एउटा बाटो देखाउन सक्छ।'
सचिवालय बैठकले धेरै विषय टुंगो लगाउन नसकेकाले समेत स्थायी समिति जरूरी रहेको उनले बताए।
अर्का स्थायी समिति सदस्य लिलामणि पोखरेलले बैठक बस्न पर्यो भनेर स्मरण गराउने काम भएको बताए।
स्थायी समिति सदस्य गणेश साहले कोरोनाबारे,नीति तथा कार्यक्रम र बजेटबारे तथा सरकार र पार्टी सम्बन्धबारे छलफल गर्न जरूरी रहेको निष्कर्ष निकालिएको बताए।
'हामी १८ जना बसेका थियौं। हाम्रो उद्देश्य विधानअनुसार बैठक बोलाउन पर्छ भन्ने हो,' साहले भने,'यसबारे दुई अध्यक्षलाई जानकारी गराउनेसमेत भनेका छौं।'
यसअघि वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै अध्यक्षद्वयलाई पत्र पठाएका थिए।
आजको बैठकमा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापा अनुपस्थित थिए।
स्थायी समिति सदस्य रायमाझीले बैठक बोलाउनुपर्छ भनेर यस अगाडि नै हस्ताक्षर बुझाइसकेकाले धुम्बाराही नगएको बताए।
'बैठक बोलाउन पर्छ भनेर त मैले पहिला नै माग गरिसकेको छु,' उनले भने,'एउटै मागका लागि कति छलफल गर्नु भनेर नगएको हो।'
आफूलाई बोलाइएको भए पनि जान नभ्याएको स्थायी समिति सदस्य थापाले बताए।
'आज मेरो विशेष कामले जान मिलेन,' थापाले भने,'बैठक बोलाउनुपर्छ भन्नेमा भने मेरो फरक मत छैन।'