सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।
बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भएको उनीहरूको बैठकले स्थायी कमिटी बोलाउन ढिला गर्न नहुने ठहर गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सेतोपाटीलाई बताए।
'बैठकको माग गर्ने अधिकांश साथीहरू हामी बसेका थियौ,' ज्ञवालीले भने,'बैठकमै सबै विषयमा छलफल हुनु पर्नेमा हाम्रो एकमत छ।'
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्।
नेकपाले आज ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक बुधबार साँझ दुई अध्यक्षले छलफल गरेर अकस्मात स्थगित गरेपछि उनीहरू आज धुम्बाराहीमा भेला भएका हुन्।
यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।
वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो।
स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको थियो।
एजेन्डा र प्रस्ताव पास गर्न बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक बोलाउन अनिच्छुक देखिएपछि बैठक रोकिएको हो।
बैठक रोकिएपछि बुधबार नै केही स्थायी समिति सदस्यहरूले बैठकबाट भाग्न नमिल्ने बताएका थिए।