सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले आफूनिकट स्थायी समिति तथा केन्द्रीय सदस्यहरूलाई आइतबार कोटेश्वर निवासमा डाकेर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको सम्बन्धबारे ब्रिफिङ गरेका छन्।
माधव नेपाल पक्षसँग मिलेर प्रधानमन्त्रीको राजीनामा मागिरहेका प्रचण्ड शनिबार एक सय असी डिग्री उल्टिएका थिए। उनले नेपाललाई नै थाहा नदिएर प्रधानमन्त्री केपी ओलीसँग 'सुलह' गरेको बालुवाटार स्रोत बताउँछ। प्रधानमन्त्री ओली र प्रचण्ड मिलेर एक जनाले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भएको स्रोतको दाबी छ।
यो पनि पढ्नुहोस्: प्रधानमन्त्री ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँटमा समझदारीपछि 'युद्धविराम'
शनिबारको सचिवालय बैठकपछि प्रचण्डले धोका दिएर फेरि ओलीसँग मिलेका त होइनन् भन्ने प्रश्न नेपाल पक्षभित्रै उठेको थियो। आफूनिकट नेताहरूको यही जिज्ञासा शान्त पार्न नेपालले आइतबार उनीहरूलाई कोटेश्वर निवास डाकेका थिए।
उनले 'आफू र प्रचण्डबीच कुनै मतभेद नरहेको र आपसी विश्वास नटुटेको' भन्दै आश्वस्त पार्न खोजेको छलफलमा सहभागी एक स्थायी समिति सदस्यले सेतोपाटीलाई जानकारी दिए।
'हिजोको सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जाँदा प्रचण्डजीले मसँग सल्लाह गर्नुभएको थियो। उहाँहरूबीच स्थायी समिति बैठक डाकेर अघि बढ्नेबाहेक अरू कुनै समझदारी भएको छैन,' छलफलमा नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्थायी समिति सदस्यले भने, 'मेरो र प्रचण्डजीको सहयात्रा जारी छ।'
नेपालले 'पार्टीभित्रको गलत प्रवृत्तिविरूद्ध प्रचण्डसँग मिलेर लड्ने र आपसी समझदारीमै पार्टीलाई संगठित बनाएर लैजाने' विश्वास दिलाएको ती सदस्यले बताए।
कोटेश्वर भेलामा सहभागी अर्का स्थायी समिति सदस्यले पनि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकठाउँमा रहेको बताएका छन्। आगामी स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भनेर चार नेताले संयुक्त एजेन्डा तय गर्ने उनले जानकारी दिए।
'प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठको एकतामा कुनै समस्या छैन,' उनले भने, 'स्थायी समितिमा कसरी जाने भनेर चार जनाले सल्लाह गर्नुहुनेछ। उहाँहरूको सल्लाहअनुसारै स्थायी समिति बैठकमा प्रस्तुत हुने माधव कमरेडलाई हामीलाई बताउनुभयो।'
यसबीच प्रचण्डले आफ्नो खुमलटार निवासमा खनाल, नेपाल र श्रेष्ठसँग भेटेको नेपालनिकट स्थायी समिति सदस्यले जानकारी दिए। 'उक्त भेटबारे जानकारी दिँदै नेपालले 'हामी चार जना एक ठाउँमा रहेको' बताउनुभयो,' उनले भने।
प्रचण्डनिकट स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि प्रचण्डले वरिष्ठ नेता नेपाललाई भेटेर विश्वस्त बनाएको बताएका छन्।
'प्रचण्डले नेपाललाई भेटेर सबै कुरा बताउनुभएको छ,' पौडेलले भने, 'प्रधानमन्त्री ओलीसँग त्यस्तो छुट्टै सहमति भएको होइन भनेर प्रचण्डले विश्वास दिलाउनुभएको छ।'
नेपालले आइतबार आफूनिकट नेताहरूसँगको भेटमा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको पनि जानकारी दिए।
'वामदेव र विष्णु पौडेल आएर तपाईं प्रधानमन्त्री नबनी भएन, केपी ओलीबाट पार लागेन भनेका हुन्। मैले छलफल गरौंला भनेको थिएँ, तर उहाँहरूले दोहोरो भूमिका खेल्नुभयो,' नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'मेरो कुनै चाहना होइन, मैले पार्टीमा विधि र पद्धति बसाउन खोजेको हो।'
त्यस्तै, नेपालले सचिवालयमा आफूहरू अल्पमतमा पर्ने भएकाले धेरै बहस नगरेको पनि निकट नेताहरूलाई ब्रिफिङ गरेका थिए। उपाध्यक्ष गौतमको युटर्नका कारण आफूहरू अगाडि नबढेको उनको भनाइ थियो।
उनका अनुसार, सधैं सचिवालयमा अल्पमतमा रहने प्रधानमन्त्री ओली शनिबार भने बहुमतमा थिए। पक्ष-विपक्षमा गएको भए ओली, गौतम, ईश्वर पोखरेल, पौडेल र रामबहादुर थापा एकातिर हुने थिए भने प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ अर्कातिर।
प्रधानमन्त्री ओलीले आत्मालोचना गरेकाले अरू धेरै विषयमा छलफल नभएको भनेर वरिष्ठ नेता नेपालले बताएको केन्द्रीय सदस्य निरज आचार्यले सेतोपाटीलाई जानकारी दिए।
'स्थायी समितिमा जाने भनेपछि धेरै कुरा गरिएन। सरकार पार्टीमार्फत् चल्नुपर्छ। सरकारको नीति तथा कार्यक्रम र बजेट पार्टीको नीतिअनुसार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,' नेपालको भनाइ उद्धृत गर्दै आचार्यले भने, 'ओलीको आजसम्मको व्यवहार हेर्दा सच्चिनुहोला भन्ने लाग्दैन। अब जे जति सबै स्थायी समितिले गर्छ।'
छलफलमा सहभागी केन्द्रीय सदस्य रचना खड्काले पार्टीलाई विधि र प्रक्रियामा चलाउने सहमति भएको जानकारी वरिष्ठ नेताले गराएको बताइन्।
'यो पार्टीलाई विधि र प्रक्रियामा चलाउने लडाइँ हो। विधिमा चल्छ भने मात्र मिल्छ,' नेपालको भनाइ उद्धृत गर्दै उनले भनिन्।