सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्तालाई पार्टीलाई फुटउन्मुख बनाउने कुनै पनि क्रियाकलापमा सामेल नहुन निर्देशन दिएको छ।
शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई एकतावद्ध बनाउने दृढता व्यक्त गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई एकताको पक्षमा लाग्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटहरूलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ। पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने र पार्टी एकतालाई कमजोर पार्ने पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ,' बैठकपछि श्रेष्ठले संवाददाताहरूसँग भने।
उनले आजको बैठकले पार्टीलाई एकतावद्ध राख्ने, विधि, पद्धति र कम्युनिष्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन/नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख समृद्धिको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि गरेको जानकारी दिए।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र अरू नेताले पनि अहिलेसम्म भएका कमीकमजोरीमा आत्मआलोचना गरेका थिए।
'यसक्रममा पार्टी वा सरकार सम्बन्धित क्षेत्रमा जेजति कमीकमजोरी भएका छन् तिनमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मआलोचना गर्नुभएको छ। आफ्नो हकको जिम्मेवारी प्रचण्ड र अरू कमरेडले पनि आत्मआलोचना गर्दै बैठकले त्यहीअनुसार अघि बढ्ने संकल्प पनि गरेको छ,' श्रेष्ठले भने।
उनले पार्टीले अहिलेको एकता सहमति समाधानको निष्कर्षअनुरूप दिशा निर्देशित गर्ने गरी र आवश्यक छलफल गर्ने गरी स्थायी कमिटीको बैठक वैशाख २५ गते ११ बजे बिहान बस्ने जानकारी दिए।
सो बैठकका एजेन्डा तय गर्न २४ गते ३ बजे सचिवालय बैठक बस्नेछ।
श्रेष्ठले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने र प्रतिनिधिमा लैजाने पहल गर्ने निर्णय गरेको पनि जानकारी दिए।
आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले छिट्टै संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको जानकारी दिएका थिए।
'पार्टीमा नीति तथा कार्यक्रम र बजेटको छलफल अघि बढाउने गरी कोरोनाभाइरस संक्रमणको आर्थिक संकटलाई सम्बोधन गर्नेगरी अघि बढ्ने निष्कर्ष निकालेको छ,' प्रवक्ता श्रेष्ठले भने।
उनले पार्टीमा तीन अध्यक्ष राख्ने र माधवकुमार नेपाल अर्को अध्यक्ष हुने कुरामा पहिला सामान्य छलफल भए पनि नेपाल स्वंय नै उक्त कुरामा सहमत नभएकाले त्यो कुरामा थप छलफल नभएको बताए।