प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको एक मन्त्रीले सेतोपाटीलाई बताए।
शनिबार उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने समन्वय समितिमा समेत रहेका ती मन्त्रीले जानकारी दिए।
'कृषिमा कसरी काम गर्ने अहिलेको समस्या त्यो भएको छ। शिक्षामा कसरी अगाडि बढ्ने भन्ने छ,' ती मन्त्रीले भने,'सुरक्षालाई ध्यान दिएर कतिपय निर्माणका कामहरू कसरी अगाडि बढाउने भनेरसमेत सोच्ने बेला आएको छ। जेठ १५ मा बजेट ल्याउनु पर्नेछ।’
शनिबार उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी तयार पार्ने भए पनि आइतबारसम्म बस्ने मन्त्रिपरिषदले त्यसलाई अन्तिम रूप दिने ती मन्त्रीले बताए।
'अहिले नै लकडाउन हटाउन सकिँदैनजस्तो लाग्छ। किनकी सर्लाही उदयपुर भोजपुरलगायतका ठाउँमा कोरोना देखिएको छ,' उनले भने, 'लकडाउनको मोडालिटी यस्तै हुन्छ भनेर म भन्न त सक्दिनँ तर अहिले भइरहेकोमा केही फरक हुनसक्छ। यसबारे अन्तिम निर्णय भने भोलि र पर्सिमा बस्ने मन्त्रिपरिषद बैठकले गर्छ।'
प्रधानमन्त्री ओलीले यो बीचमा बिभिन्न देशका प्रबुद्धहरूसँग कुराकानी गरेर त्यहाँ रहेका नेपाली श्रमिकहरूबारे जानकारी लिएकोसमेत बैठकमा बताएका थिए।