सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार देशको समसामयिक विषयमा छलफल गर्न देउवा र दाहाल बालुवाटार पुगेका हुन्।
‘उहाँहरूबीच देशलाई अहिलेको अवस्थामा कसरी एक ढिक्का बनाएर लैजान सकिन्छ भन्नेबारे छलफल भइरहेको छ,’ थापाले भने।
यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच एक्लाएक्लै वार्ता भएको थियो। उनीहरूबीच दिउँसो ३ देखि ४ बजेसम्म कुराकानी भएको हो।
सोमबार राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता र आफ्नै पार्टीका अर्का अध्यक्षसँग छलफल गरेका हुन्।