प्रधामन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी कुनै हालतमा नफुट्ने दावी गरेका छन्।
संघीय संसदमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भेलामा बोल्दै प्रधानमान्त्री ओलीले पार्टी फुट्छ कि भन्ने हल्लाको पछाडि नलाग्न समेत आग्रह गरे।
‘कसले भन्यो पार्टी फुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो? प्रचण्डजीले, पार्टी फुटाउने, मैले पार्टी फुटाउने? जसले त पार्टी बनायो उसैले पार्टी फोड्ने’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै नेकपा सांसद रामनारायण बिडारीले सेतोपाटीसँग भने, ‘हामीले नबनाएको भए पार्टी बन्थ्यो? अरुले बनाएको भए बन्थ्यो? जसले बनायो उसैले पार्टी कसरी फोड्छ?’
संसारको कुनै पनि देशमा पार्टीको बहुमतले पार्टी फुटाउने व्यवस्था नभएको भन्दै प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताका लागि अध्यादेश ल्याएको बताएका थिए।
संसदमा हुने संख्याको आधारमा पार्टीको आकार निर्धारण हुने भएकाले फुट्नका लागि पनि सांसदलाई नै महत्वपर्ण बनाइन लागिएको प्रधानमन्त्री ओलीले बताएका थिए।
संसदको निश्चित संख्या हुने भए पनि केन्द्रीय कमिटीमा त्यस्तो कुनै सीमा नहुने प्रधानमन्त्री ओलीको धारणा थियो। पार्टी फुट्ने र जुट्ने निर्धारण ऐनले नगर्ने भएकाले पार्टी विभाजनलाई खुकुलो पार्दैमा आत्तिन पर्ने अवस्था नरहेको धारणा प्रधानमन्त्रीबाट आएको अर्का सांसद विजय शुब्बाले सेतोपाटीलाई बताए।
‘प्रदेश १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग प्रधानमन्त्रीले विगतमा पार्टीहरु टुट्न फुट्ने ऐनका आधारमा नभएको बताउनुभयो। नत एउटै पार्टीमा बस्नलाई ऐनले रोक्छ नत फुट्नलाई नै रोक्छ भनेर उहाँले भन्नुभएको थियो’ उनले भने, ‘सरकारले ल्याएको अध्यादेशबाट कोही पनि आत्तिन पर्ने अवस्था छैन भन्नेमा उहाँको जोड थियो।’
संवैधानिक परिषदमा विपक्षीले किचलो गरिरहेकाले संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी संशोधन अध्यादेश ल्याइएको जानकारी प्रधानमन्त्रीले गराएको सांसद बिमला पौडेल राईले बताइन्।
बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुको भेलामा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनपछिको अवस्थाबारे समेत जानकारी गराएका थिए।
‘उपप्रधानमन्त्रीले लकडाउनबारे अहिले यसै भन्न नसकिने जानकारी गराउनुभयो। काठमाडौंमा कति केस देखिन्छन् त्यसका आधारमा हामीले निर्णय लिन्छौं भनेर भन्नुभएको थियो’ सांसद राईले भनिन् ‘संक्रमित ठाउँका आधारमा केही तलमाथि हुनसक्छ तर भारतमा सामान्य अवस्था नआएसम्म सीमा नाका बन्द रहने जानकारी उपप्रधानमन्त्रीले हामीलाई गराउनुभएको छ।’
प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा भागवण्डा खोजेर दुई तिहाइको सरकारलाई पेण्डुलम बनाउन खोजिएकाले अध्यादेश ल्याइएको समेत बताएका थिए।
‘बिपक्षी दलका नेताले भागबण्डा माग्ने काम गर्नुभयो। यति दिए आउँछु, उति दिए आउँछु मात्रै भन्नुभयो’ सांसद विजय शुब्बाले भने, ‘उहाँकै कारण ४ वटा जति बैठक त बस्न पनि सकेनन्। संवैधानिक रिक्ततालाई पूर्ति गर्न हामीले अध्यादेश ल्याएको हो।’
सुदुरपश्चिम प्रदेश, प्रदेश १ र बागमति प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुसँग बुधबार छलफल गरेका प्रधानमन्त्रीले बिहीबार अन्य प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए।
सुदुरपश्चिम र प्रदेश १ का सांसदहरुको छलफलमा प्रचण्ड उपस्थित थिए भने बामगती प्रदेशका सांसदको भेलामा उपस्थित भएका थिएनन्। प्रदेश १ का सांसदको भेलामा प्रचण्डले पार्टी स्थापना दिवसको शुभकामना दिने बाहेक अरु धारणा नराखेको सांसद शुब्बाले बताए।
उनले प्रधानमन्त्रीले बोल्दै गर्दा प्रचण्डको हाउभाउमा असन्तुष्टि नदेखिएको दावी गरे।