प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर गाउँमा जान नदिन निर्देशन दिएका छन्।
कोभिड-१९ रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समिति,कोभिड १९ क्राइसिस म्यानेजमेन्ट टिम र अन्य सरोकारवाला मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले लामो यात्रामा रहेकाहरूलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने समेत निर्देशन दिएका हुन्।
'अहिलेको अवस्थामा घरमा पुर्याउन सम्भव छैन। जो जहाँ छ त्यहीँ राख्ने हो,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले सेतोपाटीसँग भने,'स्थानीय तहले सबैको व्यवस्थापन गर्छ। हामीले त्यो कामलाई नै प्रभावकारी बनाउनुपर्छ।'
यस्तो अवस्थामा कसरी मानिसहरू सडकमा हिँडिरहेका छन् भनेर समेत प्रधानमन्त्रीले चासो राखेका थिए।
'को-को हिँडिरहेका छन्। कति हिँडेका छन् र कहाँ हिँडिरहेका छन् अनि किन हिँडिरहेका छन् भनेर प्रधानमन्त्रीले सोध्नुभएको थियो,'ती मन्त्रीले भने,'सुरक्षा निकायले यो बारेमा अलि ध्यान दिनुपर्छ। लकडाउनलाई अझै कडा बनाउनुपर्यो।'
लकडाउनका कारण रोकिएका मानिसहरूको गाँस-बासको व्यवस्था भए/नभएकोमा भने गम्भीर हुन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकाका सबै स्थानीय तहले लकडाउनमा परेका मजदूरहरूको गाँस बासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले अलपत्र परेकाहरूलाई स्थानीय तहले पकाएकै खानाको समेत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए।
'कति मजदूर अहिले खाली भएका छन्। उनीहरूको अवस्था के छ भनेर तथ्यांक ल्याउन समेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,'ती मन्त्रीले भने,'भौतिक मन्त्रालय खानेपानी मन्त्रालय लगायतले कतिलाई काम दिन सक्छ भनेर अध्ययन गरी जानकारी गराउन समेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ।'
खाडी मुलुकका कतिपय देशका सरकार प्रमुखहरूसँग आफूले कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले सबैले नेपाली मजदूरलाई अलपत्र हुन नदिने प्रतिबद्धता जनाएको जानकारी गराएका थिए।
'यो अवस्थामा जो जहाँ छ त्यहीँ सुरक्षित रहने हो भनेर सबै सरकार प्रमुखहरूले भन्नुभएको छ। अवैधानिक तरिकाले गएकाहरूले पनि भन्नुपर्छ। त्यसपछि उनीहरूको वैधानिकताको काम सुरू हुन्छ भनेर सरकार प्रमुखहरूले भन्नुभएको छ,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने,'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालीको जिम्मा हामी लिन्छौं तपाईंहरूले पनि हाम्रा नागरिकको व्यवस्थापन गर्नुस्। यो बेलामा जो जहाँ छ त्यहीँ सुरक्षित रहने हो भनेर भन्नुभएको छ।'