सरकारले लक डाउनको समय १ साता थप्ने तयारी गरेको छ।
दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
आजको मन्त्रिपरिषदले लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने एक मन्त्रीले सेतोपाटीलाई बताए।
आजैको मन्त्रिपरिषदमा स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप निर्णय गर्नेसमेत स्रोतले बतायो।
मन्त्रिपरिषदमा लैजाने प्रस्तावबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढाकाल, अर्थमन्त्री युवराज खतिवडा र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्न लागेका छन्।
सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीले कहिले सम्बोधन गर्ने भनेर आजकै मन्त्रिपरिषदको बैठकबाट तय हुने स्रोतले बतायो। सुरूमा ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको भए पनि २ बजे सारिनुको कारण प्रधानमन्त्रीको सम्बोधन हुन सक्ने एक मन्त्रीले सेतोपाटीलाई बताए।
ती मन्त्रीका अनुसार अबको लक डाउन कति लम्बिने भनेर प्रधानमन्त्रीकै सम्बोधनमा आउने सम्भावना छ। यद्यपि प्रधानमन्त्रीको सम्बोधन कहिले हुने भन्नेबारे मन्त्रिपरिषदको बैठकपछि मात्रै थाहा हुने उनले बताए।