कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएकाहरू भागेर गाउँ-गाउँ पुगेकाले कर्णाली प्रदेशका गाउँ असुरक्षित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले मंगलबार सेतोपाटीसँग कुरा गर्दै भारतबाट आउनेहरूलाई सुर्खेतमै रोक्न खोज्दा पनि नसकिएको बताए।
'म मंगलबार मुगु, हुम्ला र डोल्पा पुगेर आएँ। मानिसहरू अलि बढी आतंकित भएको पाएको छु,' मुख्यमन्त्री शाहीले भने, 'हामीले सुर्खेत र अन्य पश्चिमी नाकाहरूमा रोकेर १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र पठाउन खोजेको हो। तर, मानिसहरू अनेक तरिका अपनाएर गाउँमा पुगेका छन्।'
यसरी भागेर जानेहरू संक्रमित भएर आएका भए गाउँमा समेत असर देखिनसक्ने खतरा बढेको उनले बताए।
उनका अनुसार यस्ता व्यक्ति पहिचान गरेर वडामै क्वारेन्टाइनमा राख्ने काम सुरू भएको छ। गाउँमा कोही मान्छे इमानदारीसाथ घर नगएर क्वारेन्टाइनमा बसेका छन् भने कोही अटेर गरेर घरमै बसेका छन्।
कतिपय पालिका प्रमुख, वडाध्यक्षहरू लकडाउनका कारण काठमाडौं, नेपालगन्ज र सुर्खेतमै रोकिएका छन्। त्यस्ता ठाउँमा अझै पनि क्वारेन्टाइन स्थल बनाउन समस्या भइरहेको छ।
'जो क्वारेन्टाइनमा बसेका छन्, उनीहरूको घर सुरक्षित छ। जो क्वारेन्टाइनमा नबसी घरमा छन्, उनीहरूका छिमेकीलाई सतर्क रहनुहोला है भनेका छौं,' उनले भने, 'विभिन्न प्रयास गर्दा पनि गाउँटोलमा समस्या आयो भने त्यो गाउँ नै लकडाउन गर्न हामीले निर्देशन दिएका छौं।'
यसका लागि कर्णाली प्रदेशले वडा-वडामा स्वास्थ्यकर्मी पठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ। कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीको अभाव पूरा गर्न स्वास्थ्य, शिक्षा पढेर आएका कर्णाली प्रदेशका नागरिकलाई तीन महिना करारमा राख्ने काम भइरहेको छ।
वडा स्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षा निकायको संयुक्त टोली बनाएर क्वारेन्टाइन र आइसोलेसन केन्द्रसमेत बनाउने प्रदेश सरकारको तयारी छ।
एउटा गाउँमा महामारी फैलिएको छ तर अर्को गाउँमा सामान्य छ भने सामान्य अवस्थाका गाउँमा परिचालित स्वास्थ्यकर्मीलाई महामारी फैलिएको गाउँमा पठाइने मुख्यमन्त्री शाहीले बताए। भौगोलिक विकटता, जनचेतना अभाव, जनशक्ति अभाव र साधनस्रोत अभावबीच पनि सक्दो प्रयास गरिरहेको उनले दाबी गरे।
'क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरूको खानपिनमा सबभन्दा बढि ख्याल गर्नुपर्ने रहेछ। रोगप्रतिरोधी क्षमता बढाउन पौष्टिक आहार पनि पर्याप्त चाहिने भएकाले हामीले त्यसको तयारी गरेका छौं,' उनले भने, 'यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा काम गर्ने भनेर कर्णाली प्रदेशका सबै जिल्लाको विपद व्यवस्थापन समितिको खातामा ५०-५० लाख रूपैयाँ पठाएका छौं। पुगेन भने फेरि पठाइन्छ।'
भारतबाट आएका कतिपय व्यक्ति दिनभरि लुक्ने र रात परेपछि घर जाने गरेका छन। 'क्वारेन्टाइनमा राख्छ भनेर यसरी भाग्ने गरेका छन्। नाकामा लकडाउन भइसकेपछि कति आए भन्ने अझै टुंगो लागिसकेको छैन। आउनेहरूको सूचना पाउन गाह्रो भएको छ। हामीले वडालाई चाँडो तथ्यांक लिन भनेका छौं,' उनले भने।
नेपालगन्जबाट केही दिनअघि फर्किएका डोल्पाका एक कर्मचारीलाई ज्वरो आएको र उनीसँग बस्ने अर्को कर्मचारीलाई पनि ज्वरो आएकाले उनीहरूको स्वाब मंगलबार परीक्षणका लागि ल्याइएको मुख्यमन्त्री शाहीले बताए। उनका अनुसार अहिलेसम्म १,७१८ जनाको स्वाब पठाइएकोमा सबैको नेगेटिभ आएको छ।