सातै प्रदेशका मुख्यमन्त्रीले कोरोना रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री संघीय सरकारले खरिद गर्नुपर्ने माग राखेका छन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको भिडिओ कन्फरेन्समा मुख्यमन्त्रीहरूले विदेशबाट ल्याउनपर्ने स्वास्थ्य सामग्री प्रदेश सरकारबाट खरिद गर्न संभव नहुने धारणा राखेका थिए।
'सार्वजनिक खरिद ऐन सच्याउन जरूरी छ। अहिले नै हामीले स्वास्थ्य सामग्री खरिद गर्न सक्दैनौं। संघीय सरकारले देशभरि आवश्यक सामग्री पठाउन जरूरी छ भनेर हामीले भनेका छौं,'कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सेतोपाटीसँग भने,'मास्कको भरमामात्रै उपचार गर्न सम्भव छैन। ल्याबको समस्या छ। संक्रमण देशभर फैलियो भने काठमाडौंको ल्याबले मात्रै धान्दैन। सातै प्रदेशमा ल्याब चाहिन्छ भनेर हामीले भनेका छौं।'
प्रदेश सरकारले उठाएका समस्याबारे उच्चस्तरीय समन्वय समितिले निर्णय गर्ने आश्वासन उपप्रधानमन्त्री पोखरेल दिएको मुख्यमन्त्री शाहीले बताए।
प्रदेश र स्थानीय तहले क्वारेन्टाइन बनाइरहेको तर जनशक्तिको अभाव रहेकाले त्यसतर्फ ध्यान दिन मुख्यमन्त्रीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका थिए।
भेन्टिलेटरविहीन कर्णाली प्रदेश
भिडिओ कन्फरेन्समा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा एउटा पनि भेन्टिलेटर नरहेकोले त्यसतर्फ ध्यान दिन माग गरेका थिए।
‘हामीसँग अहिले भेन्टिलेटर छैन सामान्य खालका आइसियु बेड पनि ३\४ वटा मात्रै छन्। हामीलाई कम्तीमा पनि ५० वटा आइसियु बेड र कम्तीमा ६ वडा भेन्टिलेटर चाहिन्छ,'उनले भने,'१८ लाख जनसंख्यामा १ लाख बिरामी परे भने हामीले कसरी काम गर्ने? त्यसैले हामीलाई आवश्यक पर्ने जनशक्ति पनि संघीय सरकारले पठाउनुपर्छ।'
धेरै ठूलो तयारी गर्दा आर्थिक भार पर्ने र तयारी नगर्दा महामारी फैलिएमा के गर्ने भन्ने अन्यौलता छाएको उनले बताए।
कर्णाली प्रदेश भौगोलिक रूपमा समेत विकट भएकाले संघीय सरकारको ध्यान अझै बढी जानुपर्नेमा उनले जोड दिएका थिए।
'विदेशबाट फर्किएकाहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न भनिएको छ। सबै वडाहरूलाई त्यही अनुसार गर्न प्रदेश सरकारहरूले भनेको समेत हामीले जानकारी गराएका थियौं,'उनले भने,'विदेशबाट आएकाहरू सबैजसो मान्छे गाउँ पुगेको हुनाले अब पालिका र वडाले जिम्मा लिनुपर्ने भएको छ। विदेशबाट आएकहरूकाको परिवार र आफन्तहरूलाई क्वारेन्टाइन बनाएर १४ दिनसम्म राख्ने भने आवश्यक निर्देशन भएको छ।'
कर्णाली प्रदेशले १ हजार क्वारेन्टाइन बेड बनाएको र अहिले १ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए।