दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार साँझ बालुवाटार फर्किएका प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
बालुवाटारमा शनिबार दिनभरिजस्तै प्रधानमन्त्री ओली भेटघाटमा व्यस्त रहे। ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार गएका थिए। दुई अध्यक्षको भेटमा प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको र मिर्गौला प्रत्यारोपण सफल भएकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई जानकारी दिए।
मिर्गौला प्रत्यारोपण हुने अघिल्लो दिन फागुन २० गते प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अपरेसन गरेर अस्पताल रहँदासम्म प्रचण्ड शिक्षण अस्पताल गएका थिएनन्।
प्रचण्डपछि वरिष्ठ नेता माधव नेपाल बालुवाटार पुगेका थिए। भेटमा नेता नेपालले ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए।
त्यसलगत्तै पार्टी महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीले भेटेका थिए। भेटपछि महासचिवसहित प्रधानमन्त्रीले आफ्ना सचिवालयका सदस्यसँग छलफल गरेको प्रेस सल्लाहकार थापाले बताए।
त्यसपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरे।
उपप्रधानमन्त्री पोखरेलसँग विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तयारीबारे छलफल भएको थियो। आजै प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीसँग समेत छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार पनि बालुवाटर फर्किएलगत्तै उपप्रधानमन्त्री पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत सचिवालयका सदस्यसँग छलफल गरेका थिए। हिजोको छलफलमा प्रधानमन्त्रीका बुवा मोहनप्रसाद ओली समेत थिए।
भेटमा कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरस रोकथाम तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओलीले एक सय शैयाको अस्पताल बनाउनपर्ने बताएका थिए।
'कोरोना भाइरसलाई लक्षित गरेर एक सय शैयाको अस्पताल बनाउने तयारी गर्न प्रधानमन्त्रीले भन्नुभएको छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार थापाले भने, 'भीडभाड नहुने ठाउँमा अस्पताल बनाउन ढिला गर्न नहुने प्रधानमन्त्रीको भनाइ छ।'
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल गएका थिए। फागुन २१ गते उनको दोश्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।