भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन्।
शुक्रबार ट्वीट गर्दै मोदीले दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने बताएका छन्।
‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्,‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।
शुक्रबारसम्म भारतमा कोरोना भाइरसबाट ७५ जना संक्रमित भएका छन् भने १ जनाको ज्यान गएको छ।
दक्षिण एसियाली क्षेत्रका ८ मुलुकमध्ये नेपालमा अहिलेसम्म यो भाइरस १ जनामा देखिएको थियो। भाइरस संक्रमित ती व्यक्ति निको भइसकेका छन्।
भुटानमा पनि अमेरिकाबाट आएका एक जनामा कोरोना भाइरस देखिएको छ।
पाकिस्तानमा २० जनामा यो भाइरस देखिएको छ। माल्दिभ्समा ८ जना संक्रमित भएका छन् भने श्रीलंकामा दुई जनामा यो भाइरस देखिएको छ। बंगलादेशमा अहिलेसम्म तीन जना कोरोना संक्रमित भेटिएका छन् भने अफगानिस्तानमा सात जनामा संक्रमण देखिएको छ।
प्रधानमन्त्री मोदीले यसअघि राजनीतिक मुद्दाहरूमा सार्कलाई बेवास्ता गर्दै आएका थिए। पाकिस्तानसँगको भारतको तिक्तताले इस्लामावादमा हुने भनेको सार्क सम्मेलन हुन सकेको छैन। मोदी सत्तामा आएपछि काठमाडौंमा एक पटक सार्क सम्मेलन भएको थियो।
पछिल्लो समय मोदीले अर्को संगठन विम्स्टेकलाई सक्रिय बनाउन जोड दिँदै आएका छन्। विम्स्टेकमा पाकिस्तान सदस्य छैन।
कोरोना भाइरसका प्रकोपबारे भने मोदीले विम्स्टेकलाई भन्दा सार्कलाई जोड दिएका छन्।