नेपाली कांग्रेस दाङका पूर्व सचिव शंकर गिरी प्रदेश सांसद हुने लगभग निश्चित भएको छ।
रुपन्देही निवासी प्रदेश ५ का जेष्ठ प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त स्थानमा गिरी प्रदेश सांसद बन्ने निश्चितजस्तै भएको छ।
कांग्रेसले रिक्त समानुपातिक तर्फको प्रदेश सदस्यका लागि नेता गिरीको नाम यसअघि नै स्व. शर्मापछि दोस्रो नम्वरमा सिफारिस गरेको थियो।
पार्टी सभापति शेरबहादुर देउवाले नेता गिरीलाई प्रदेश सांसद बनाउन निर्वाचन आयोगलाई नाम सिफारिस गरिसकेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
तुलसीपुर उपमहानगरपािलका वडा नं. १२ कचिलाका स्थायी बासिन्दा गिरी हाल नेपालगञ्जमा बस्दै आएका छन्।
तुलसीपुरस्थित अमरमावि उरहरीका पूर्व प्रधानाध्यापक गिरीले राजनीतिमा लागेपछि शिक्षण पेशा समेत छोडेका थिए। पार्टीभित्र प्रखर बक्ताको रुपमा परिचित गिरी राजनीतिमा अवसर नपाउने मध्यका एक नेता हुन्। शंकर नेता दीपक गिरीका दाजु हुन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाली कांग्रेसले प्रदेश सभा सदस्य समानुपातिकतर्फ रिक्त सदस्यमा शंकर गिरीको नाम सिफारिस गरेर पठाएको जानकारी दिए।
निर्वाचन आयोगले गिरीलाई प्रदेश सभा सदस्य बनाउने निर्णय गरेपछि मात्रै राजपत्रमा त्यो प्रकाशित गर्ने गर्छ। राजपत्रमा प्रकाशित भएपछि मात्रै आयोगले प्रदेश ५ को प्रदेश सभामा गिरीलाई शपथ गराउन पत्राचार गर्ने छ। यो सबै प्रक्रिया पुरा गर्न सरासर काम भए कम्तिमा एक हप्ता लाग्न सक्ने श्रेष्ठले जानकारी दिए।