दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन।
‘आजका केही रिपोर्टहरू आउन बाँकी छ। ती रिपोर्ट पनि सामान्य आए उहाँलाई साँझसम्म डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने।
उनका अनुसार प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किए भने पनि सामान्य अवस्थामा भने हुने छैनन्।
उनलाई केही दिन आइसोलेसनमा राखिनेछ। त्यसका लागि बालुवाटारमा छुट्टै कक्ष पनि बनाइएको छ।
‘उहाँ कसैलाई भेट्दा धेरैबेर कुरा गर्ने गर्नुहुन्छ। मान्छेहरू आएर भीडभाड हुँदा संक्रमण हुन सक्ने ठानेर आइसोलेसनमा राख्न लागिएको हो,’ ती चिकित्सकले भने,‘बालुवाटारमा पनि डाक्टरहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाई निरन्तर निगरानी गरिरहनु हुन्छ।’
प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। भान्जी नाता पर्ने झापाकी समीक्षा संग्रौलाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी थिइन्। उनलाई पनि प्रधानमन्त्री ओलीसँगै डिस्चार्ज गर्ने तयारी छ।
यसअघि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य अवस्थामा फर्कन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएकी थिइन्।