अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिने भएका छन्।
राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि खतिवडाले आज राजीनामा दिन लागेको स्रोतले जानकारी दिएको छ।
आज राजीनामा दिएपछि खतिवडा फेरि मन्त्री नियुक्त हुनेछन्।
‘उहाँले आज राजीनामा दिनुहुन्छ। त्यसपछि फेरि मन्त्री नियुक्त हुनुहुन्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाका एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने।
संविधानअनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री बन्न सक्छन्।
खतिवडा सोही व्यवस्थाअनुसार फेरि मन्त्री नियुक्त हुन लागेको ती स्थायी समिति सदस्यले बताए।
राष्ट्रपति कार्यालय शितल निवास स्रोतका अनुसार खतिवडाले बुधबार फेरि मन्त्रीको सपथ लिन सक्ने सम्भावना छ।